पोखरा । प्रविधिमैत्री शिक्षक समाज, नेपालअन्तर्गत नेपाली भाषा शिक्षक समितिको आयोजनामा कविताको लयविधान र संरचनासम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
असोज
२१ र २२ गते गरी २ दिनसम्म अनलाइन मोडमा भएको प्रशिक्षणमा कक्षा ६ देखि १२ का अनिवार्य
नेपाली पाठ्यपुस्तकमा समावेश गरिएका १८ ओटा कविताको संरचना र लयविधानबारे प्रा.
डा. देवी नेपालले सहजीकरण गरेका थिए । पहिलो दिन लोकलय र मुक्त छन्दका कविताका
संरचना र लयसम्बन्धी सहजीकरण गरेका नेपालले दोस्रो दिन शास्त्रीय छन्दका कविताका
लय र संरचनाबारे चर्चा गरेका थिए । मुक्त छन्दका कवितालाई समेत लयबद्ध प्रस्तुत
गर्ने र कतिपय शास्त्रीय छन्दका कवितालाई गद्य रचनाको शैलीमा पाठ गर्ने गरेको आफूले
देखेको भन्दै नेपालले यस्तो अवस्थाबाट कवितालाई कविताकै रूपमा अध्यापन गर्न सहज
होस् भन्ने हेतुले आफूले कविताको संरचना र लयसम्बन्धी प्रशिक्षण सञ्चालन गर्दै
आएको जानकारी दिए ।
उनले
प्रविधिमैत्री शिक्षक समाजले सञ्चालन गरेको अभियानले समग्र नेपालको शैक्षिक
क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउँदै हरेक विद्यालयमा पुगेर हरेक
शिक्षकलाई प्रशिक्षण दिन असम्भव हुने परिस्थितबाट मुक्त हुनका लागि पनि यस्ता
कार्यक्रम लाभदायी हुने धारणा राखे । कविता जुनसुकै छन्दमा भए पनि स्थानीय पहिचानलाई
ख्याल गर्दै वाचन गर्न सकिने बताउँदै गति र यतिमा विशेष ख्याल राख्नुपर्नेमा उनको
जोड थियो । सुप्रसिद्ध कविका रूपमा समेत परिचित नेपालले प्रशिक्षणकै क्रममा कविता
लेखन अभ्यासका उदाहरणसमेत दिँदै गद्य कवितामा रहेको अन्तर्लयलाई बुझेर शिक्षण गर्न
शिक्षकहरूसँग आग्रह गरे । नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यको
जिम्मेवारीसमेत पूरा गरिसकेका डा. नेपाल वाल्मीकि क्याम्पसमा प्राध्यापनरत छन् ।
उनका छन्दसम्बन्धी ज्ञान दिने ‘छन्दपराग’ लगायत डेढ दर्जनभन्दा बढी साहित्यिक कृति
प्रकाशित छन् ।
पहिलो
दिनको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि प्रविधिमैत्री शिक्षक समाज, नेपालका
केन्द्रीय अध्यक्ष भूपति बश्यालले सिक्ने/सिकाउने अभियानमा आफूहरू लागिरहेको बताउँदै
नेपाली विषय समितिको सक्रियता लोभलाग्दो रहेको अनुभव सुनाए । उनले पाठ्यक्रम विकास
केन्द्रले पाठ्यक्रमसँगै आवश्यक सम्पूर्ण सामग्रीहरू एकै साथ तयार पार्न सुझावसमेत
दिए ।
विशेष
अतिथि पाठ्यक्रम विकास केन्द्रका निर्देशक टुकराज अधिकारीले विधागत विशेषतालाई बुझेर
अध्यापन गर्नुपर्नेमा जोड दिए । विद्यालयहरूमा पुग्दा जुन उद्देश्यले पाठ्यपुस्तकमा
सामग्री समावेश गरिएको थियो, त्यसको मर्ममा पुगेर शिक्षण हुन नसकेको अनुभव आफूले
प्राप्त गरेको भन्दै अधिकारीले पाठ्यक्रम विकास केन्द्रले नै यसतर्फ ध्यान
दिनुपर्ने महसुस भएको भनाइ राखे । यस्तो अवस्थामा प्रविधिमैत्री शिक्षक समाजले
गरेको प्रयास प्रशंसनीय रहेको उनको भनाइ थियो ।
कक्षा
८ को नेपाली पाठ्यपुस्तकमा समावेश गरिएको ‘फर्क आफ्नै देश’ शीर्षकको कविताका कवि
विक्रमपवन परियारले सो कविता वाचन गरेका थिए ।
दोस्रो
दिनको प्रशिक्षण कवि डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा भएको थियो । कक्षा
१० को नेपाली पाठ्यपुस्तकमा समावेश गरिएको ‘उज्यालो यात्रा’ का कविसमेत रहेका
ज्ञवालीले आफ्नो कविता पढाउने शिक्षकहरूसँग भर्चुअल मोडबाटै भए पनि भेट्न पाएकोमा
खुसी व्यक्त गरे । ‘शिक्षक मात्रै त्यस्तो आशा गर्न सकिने वर्ग हो, जसले समाज
परिवर्तन गर्न सक्छ’ ज्ञवालीले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा पुगिसकेको नेपाली
भाषालाई मास्नका लागि खेल भइरहेको छ, अब नेपाली भाषा जोगाउनका लागि शिक्षकहरू नै
लाग्नुपर्दछ ।’ विधाका माध्यमबाट भाषिक सिप सिकाइरहँदा आफ्नो उद्देश्यमा स्पष्ट
हुनुपर्नेमा जोड दिँदै विद्यार्थीलाई परिवर्तन गर्नका लागि शिक्षण केन्द्रित बनाउन
उनले आग्रह गरे । शिक्षक विश्वकै राजदूत भएको उनको भनाइ थियो ।
विशेष
अतिथि कक्षा ८ को पाठ्यपुस्तकमा समावेश गरिएको कविता ‘प्यारो प्रकृति’ का कवि
प्रल्हाद पोखरेलले सो कविता वाचन गर्दै शिक्षकहरूसँगको सान्निध्य प्रिय लागेको
अनुभव सुनाए ।
दुवै
दिनका कार्यक्रम नेपाली भाषा शिक्षक समितिका संयोजक हर्क बोहराको अध्यक्षतामा भएको
थियो । नेपाली विषयका शिक्षकहरूलाई पनि प्रविधिमैत्री बनाउने अभियानमा आफूहरू
लागेको बोहराले बताए । कार्यक्रममा समितिका सदस्य तारादेवी आचार्य र ध्रुव गिरीले
स्वागत गरेका थिए भने सञ्चालन रुपिन्द्र प्रभावीले गरेका थिए ।
Post a Comment