छोराले एसइईमा उत्कृष्ट जिपिए ल्याएको खुसीमा विद्यालयलाई सहयोग

 


पोखरा । आफ्नो छोराले एसइई परीक्षामा राम्रो जिपिए ल्याएको खुसीमा एक व्यक्तिले विद्यालयलाई टिभी हस्तान्तरण गरेका छन् । पोखरा-३० निवासी समाजसेवी अमृता गुरुङले आफ्ना छोरा सरुण गुरुङले २०८० को एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएको शान्ति आधारभूत विद्यालयलाई ४३ इन्चको स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी हुन् ।

छोराले कक्षा ८ सम्म शान्ति आधारभूत विद्यालयमै अध्ययन गरेका र त्यसैको जगमा एसइईमा राम्रो अङ्क आएको भन्दै गुरुङले खुसीयालीमा अनेकौँ तडकभडक गर्नुभन्दा विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

यसै बिच विद्यालयका सहायक प्रधानाध्यापक भुवानीप्रसाद सुवेदी र उनकी श्रीमती भगवती अधिकारी जैसीले विद्यालयलाई एक थान दराज हस्तान्तरण गरेका छन् । त्यसै गरी पोखरा-२४ निवासी कृष्णप्रसाद सुवेदी र मीनाकुमारी सुवेदीले आफ्ना छोरा क्रिमस सुवेदीको जन्मदिनको अवसरमा आइतवार एक थान दराज विद्यालयलाई प्रदान गरेका थिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा वडा नम्बर ३० वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले कुनै पनि खुसीयाली तथा जन्मदिनमा विद्यालयलाई गरिने सहयोगबाट अतुलनीय पुण्य प्राप्त हुने धारणा राखे । उनले विद्यालयले क्रमशः गर्दै गएको प्रगतिबाट आफू निकै प्रभावित भएको भन्दै वडाका तर्फबाट हुन सक्ने सहयोगमा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गरे ।

सहयोगदाताहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्षा दुर्गादत्त अधिकारी र प्रधानाध्यापक मनिराम कडेलले सम्मान गरेका थिए । विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान अघि बढाइरहेका बेला प्राप्त सहयोगले थप हौसला प्राप्त भएको प्रधानाध्यापक कडेलले बताए । स्मार्ट टिभीमार्फत् मल्टिमिडियमा आधारित शैक्षिक सामग्रीका माध्यमले शिक्षण गर्न सहज भएको उनले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post