कस्मिकले प्रहरीलाई कम्प्युटर तालिम दिने



पोखरा । कस्मिक कम्प्युटिङ एकेडेमीले प्रहरी कर्मचारीका लागि निःशुल्क कम्प्युटरसम्बन्धी तालिम प्रदान गर्ने सम्झौता गरेको छ ।

एकेडेमीले प्रहरी कर्मचारीहरूका लागि कम्प्युटर तालिम सञ्चालन गर्नका लागि वडा प्रहरी कार्यालय बैदामबिच दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

बुधवार कस्मिक कम्प्युटिङ एकेडेमी, न्युरोड, पोखराका सञ्चालक पुरुषोत्तम कुँवर र वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाबिच सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।

कार्यालयलाई स्मार्ट अफिसका रूपमा विकास गर्नुका साथै कार्यालयका सबै किसिमका कार्यहरू डिजिटलाइज हुँदै गइरहेको परिप्रेक्ष्यमा अब सबै प्रहरी कर्मचारीहरू प्रविधिमैत्री हुने उदेश्यले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई सुचना प्रविधी (कम्प्युटर) सम्बन्धी अनुशिक्षण (तालिम) प्रदान गर्न यो सम्झौता गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख सन्तोष निरौलाले बताए ।

उनले भने, ‘आम जनमानसलाई प्रहरी सेवा प्रभावकारी ढङ्गबाट उपलध गराउन सूचना प्रविधिको आजको युगमा बैदाम प्रहरीलाई पनि सूचना प्रविधिको क्षेत्रमा अझ बढी सशक्त र समयानुकूल बनाई प्रहरीले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन अति नै आवश्यक रहेकोछ ।’

कम्प्युटरसम्बन्धी ज्ञान नभएका र सामान्य ज्ञान भएका प्रहरी जवानदेखि प्रहरी अधिकृतसम्मका प्रहरी कर्मचारीहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिने एकेडेमीका सञ्चालक पुरुषोत्तम कुँवरले बताए । तालिममा कम्प्युटरसम्बन्धी आधारभूत कोर्स, एड्भान्स कोर्स, साइबर सुरक्षालगायतका कोर्स सञ्चालन हुने छन् ।

‘डिजिटल प्रविधिको विकासले आज क्षणभरमा नै जस्तोसुकै कठिन काम पनि तत्काल पूरा गर्न सकिने भएको छ’ उनले भने, ‘आजको युगमा प्रविधिको प्रयोगबिना नेपाल प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र अनुन्धान कार्यमा दक्षता हासिल गर्न नसक्ने भएको छ ।’ नेपाल प्रहरीको उक्त लक्ष्यलाई पूरा गर्न वडा प्रहरी कार्यालय, बैदाम र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रविधिको सम्बन्धमा सामान्य ज्ञान र सिप दिलाउने उद्देश्यका साथ कस्मिक कम्प्युटिङ एकेडेमीले नि:शुल्क रूपमा कम्प्युटर कक्षा सञ्चालन गर्न लागिएको कुँवरले बताए ।

Post a Comment

Previous Post Next Post