पोखरा, माघ ८ गते । गण्डकी प्रदेश सभाका सांसद भीम कार्कीले २०२८ को शिक्षा ऐनले आजको शिक्षालाई अघि बढाउन नसक्ने बताएका छन् ।
पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको सोमवार सम्पन्न ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै कार्कीले भने, ‘आज निजी तथा सामुदायिक विद्यालयलाई कसरी सञ्चालन गर्ने भन्ने कुरा स्पष्ट हुने तरिकाले शिक्षा ऐन आउनुपर्छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद कार्कीले शिक्षा सुधारका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । उनले आजका विद्यार्थीलाई माटो चिनाउन सकियो भने संसारका जुनसुकै कुनामा पुगे पनि देशलाई सम्झन सक्ने भनाइ राखे । प्रविधियुक्त शिक्षा दिनु आजको आवश्यकता भएकाले राष्ट्रिय शिक्षा नीतिमै त्यसको व्यवस्थापन हुनुपर्नेमा उनको जोड थियो । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षले विद्यालय कसरी सञ्चालन गर्ने भन्ने चिन्ता गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने कार्कीको विचार थियो । उनले विश्वमा प्रतिस्पर्धा गर्ने शिक्षाको कुरा गरिरहँदा नैतिक र सामाजिक शिक्षा भुल्न नहुने बताए । आफ्नो देशको माया गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने आजको चुनौती भएको भन्दै कार्कीले नेपाली संस्कार र संस्कृतिप्रति प्रेम जगाउनुपर्ने धारणा राखे ।
सो अवसरमा विद्यालयको हितका लागि भूमिका खेलेको भन्दै निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, समाजसेवी धनबहादुर विश्वकर्मा र शिक्षिका सृजना महतलाई कालिका वर्ष सम्मान २०८१ प्रदान गरिएको थियो ।
Post a Comment