नेराशिसं पोखरा महानगरको १६ बुँदे घोषणापत्रसहित छैटौँ परिषद् तथा शिक्षक सम्मान

 


जुना थापा

पोखरा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पोखरा महानगर समितिले १६ बुँदे घोषणापत्रसहित छैटौँ परिषद तथा शिक्षक सम्मान सम्पन्न गरेको छ ।कार्यक्रममा  नेराशिसं पोखरा महानगरले सङ्गठन सुदृढीकरण र विस्तारका लागि '१६ बुँदे घोषणापत्र' र २०८०/१२/२८ देखि २०८१/११/१६ गते सम्म सेवा निवृत्त भएका २८ जना र गत वर्ष  छुट भएका ४१ जना गरी कुल ६९ शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरेको हो।  

कार्यक्रमका प्रमुख अतिथि माननीय प्रतिनिधि सभा सदस्य दामोदर पौडेलले शिक्षा ऐन नआउँदा शिक्षकहरु निराश हुनु स्वभाविक भए ता पनि शिक्षकले चाहेको जस्तो र समग्र शिक्षा क्षेत्रको दूरगामी विकासका लागि ऐनमा केही संशोधन गर्नुपर्ने हुनाले केही ढिलो भन्दै शिक्षकहरुलाई हतोत्साहित नहुन आग्रह गर्नुभयो । 

कार्यक्रममा नेराशिसं राष्ट्रिय समितिका सचिव तथा नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका उपाध्यक्ष रामप्रसाद पोख्रेल कार्यक्रममा नेराशिसं गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेल, नेराशिं कास्कीका अध्यक्ष तिर्थराज ढकाल, पेसागत महासङ्घ कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी, नेकपा एमाले महानगरपालिका समिति अध्यक्ष जीवन आचार्यलगायतले मन्तव्य राखेका थिए । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पोखरा महानगरपालिका समिति कास्कीका अध्यक्ष यामनारायण लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा

सचिव नेपालप्रकाश अधिकारीले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष भीमप्रसाद सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

"पोखरा घोषणापत्र–२०८१" 

१) नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री क. केपी शर्मा ओली तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मा. विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको नेतृत्वको वर्तमान सरकारको यो कार्यकालमा विद्यमान शैक्षिक मुद्दाहरु हल हुनेछन् भन्ने अपेक्षा सहित शिक्षा क्षेत्रका तमाम समस्यहरुको समाधानमा सरकार गम्भीर बन्नुपर्ने सङ्गठनको मत जाहेर गर्दछ ।

२) परिषद् बैठकमा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नुहुने संघीय प्रतिनिधि सभाका सदस्य दामोदर पौडेल बैरागी लगायत विशिउष्ट अतिथि तथा अतिथिहरूलाई यो बैठक विशेष आभार व्यक्त गर्दछ ।

३) नेपालको संविधान २०७२ लाई शंसोधन गरी संविधानको अनुसूची ८ बाट आधारभरत तथा माध्यमिक शिक्षालाई हटाई अनुसूची ९ को साझा सूचिमा राख्ने प्रबन्ध गर्दै विगत देखि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले माग गर्दै आएको शिक्षा आयोग र शिक्षक सेवा आयोगलाई संबैधानिक आयोग बनाउनका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

४) संसदको विषयगत समितिको छलफलमा रहेको विद्यालय शिक्षा विधेयकलाई पेन्सन बञ्चित शिक्षकहरुको पेन्सनको प्रबन्ध गर्ने एवम् बाल विकास शिक्षक, विद्यालय कर्मचारी, राहत शिक्षक, साविक १०+२ का शिक्षक, छुट करार शिक्षक, प्रविधिक धारका प्रशिक्षण जनशक्ति र विशेष शिक्षामा कार्यरत जनशक्ति लगाएतका सबै थरीका शिक्षाकर्मीलाई दरबन्दी व्यवस्था गर्दै स्थायीत्व हुने गरी नेपाल शिक्षक महासङ्घ र नेपाल सरकारका बीच यस अघि पटक पटक भएका सम्झौताहरु हु बहु रूपमा सम्बोधन हुने गरी संसदको यसै हिउँदे अधिवेशनमा शिक्षा ऐन जारी गर्न यो परिषद् जोडदार माग गर्दछ ।

५) विद्यालय शिक्षा विधेयक संसदमा छलफल भई पारित हुँने क्रमा रहेको अवस्थामा हाम्रा माग मुद्दाहरु छुट्न सक्ने विषयमा सचेत हुँदै नेपाल शिक्षक महासंघ र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय समिति थप चनाखो हुँदै खवरदारी गर्न तथा आवस्यकता अनुसार आन्दोलनको निमित्त तयारी अवस्थामा रहन एवम् समन्वयात्मक रूपमा आन्दोलनका गतिविधिहरू अघि बढाउन जिम्मेवार बनी अघि बढ्न ध्यानाकर्षण गर्दछ ।

६) पोखरा महानगरपालिकाले महानगरका विभिन्न विद्यालयहरूमा शिक्षक दरवन्दी मिलान तथा प्रधानाध्यापकको नियुक्ती जस्ता विषयमा शिक्षकका पेसागत सङ्गठनहरुसँग अविलम्ब छलफल गरी समन्वयात्मक तरिकाले प्रकृया अगाडी बढाउन तथा सामाजिक सम्वाद समितिलाई सक्रिय गराई नीति निर्माण तहमा पेशागत सङ्गठनहरूसँग छलफल गरी अघि बढ्न यो परिषद आव्हान गर्दछ ।

७) तल्लो तहबाट माथिल्लो तहमा बाह्य प्रतिस्प्रर्धाबाट तह वृद्धि भएका शिक्षकहरुको छुट प्राविधिक ग्रेड समायोजन गरी सेवा सुविधा उपलब्ध गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

८) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी भएको शिक्षक सरुवा निर्देशिकाले शिक्षक सरुवालाई व्यवस्थित गर्नुको साटो सरुवा प्रकृयालाईनै रोक्ने र विद्यालयहरुले सरुवाको सट्टा करारमा शिक्षक नियुक्ति गर्ने अवस्था सिर्जना गरेको हुँदा यो अब्यवहारिक निर्देशिकालाई तुरुन्तै खारेज गर्न र यसको विकल्पमा अपाङ्ग शिक्षक, गर्भवती एवम् सानो बच्चा भएका महिला शिक्षक, स्वयम् वा परिवार सदस्य दीर्घरोगी भएका शिक्षक, एवम् तल्लो तहका शिक्षकहरुबाट माथिल्लो तहको कक्षा सञ्चालन गरेका प्रस्तावित विद्यालयहरुको समस्या समाधान हुने गरी निर्देशिकालाई अविलम्ब न्यायपूर्ण र व्यवहारिक हुनेगरी नयाँ निर्देशिका जारी गर्नुपर्नेमा यो परिषद् सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछ ।  

९) शिक्षक सरूवा निर्देशिकाको मर्म विपरित विभिन्न विद्यालयहरूले शिक्षक सरूवाको सूचना ननिकाली करार शिक्षकको सूचना गर्ने परिपाटीले लामो समयसम्म दुर्गम क्षेत्रमा कार्यरत शिक्षकहरूलाई सरूवामा झन बन्देद लगाएको अवस्था देखिएकाले पोखरा महानगर भित्रका सम्पूर्ण विद्यालयहरूले आफ्नो विद्यालयमा शिक्षक, कर्मचारी दरवन्दी खाली भएको अवस्थामा पहिलोपटक हप्तादिनको समयावधी राखी अनिवार्य रूपमा शिक्षक कर्मचारीको सरूवाको सूचना प्रकाशित गर्नुपर्ने र तोकिएको समयाबधी भित्र सरूवाको निवेदन प्राप्त नभएमा मात्रै करार नियुक्तीको प्रकृया अगाडि बढाउन निर्देशन गर्न पोखरा महानगरपालिकासँग जोडदार माग गर्दछ ।

१०) सर्बोच्च अदालतको आदेश अनुसार नेपाल सरकाबाट सार्वजनिक सेवामा रहेका राष्ट्रसेवकहरुको तलब र ग्रेड समायोजको प्रकृया अगाडि बढाउदा उक्त समायोजनमा सबै तहका शिक्षकलाई पनि अनिवार्य रुपमा समायोजन गर्न यो बैठक जोडदार माग गर्दछ ।

११) पोखरा महानगरपालिकाको बजेटमा शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने र शिक्षकहरुको पेसागत विकासका विभिन्न क्षेत्रहरु तालिमहरु, प्राविधिक पक्षमा समेत लगानी वृद्धि गरी आगामी बजेटमा प्रर्याप्त रकमको व्यवस्था गर्नुपर्नेमा यो परिषद ध्यानाकर्षण गराउन चाहन्छ ।

१२) संस्थागत विद्यालय र सामुदायिक विद्यालयमा नीजि स्रोतमा कार्यरत शिक्षक कर्मचारीहरुलाई मासिक पारिश्रमिक खुल्ने गरी नियुक्तिपत्र दिन र समाजिक सुरक्षाकोषमा आवद्ध गराउन विद्यालय व्यवस्थापन समिति समक्ष र उक्त कुरा नियमन गर्न स्थानिय सरकार समक्ष यो परिषद् माग गर्दछ ।

१३) मुलूकमा व्याप्त ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारले जनतामा विद्रोहको भाव सिर्जना भएको छ । यसलाई समयमै निराकरण गरी सुसासन कायम गर्न र देशलाई समृद्ध बनाउन यो परिषद् जोडदार माग गर्दछ ।

१४) सार्वजनिक शिक्षा विकासका सन्दर्भमा नेपाल सरकार र शिक्षक समुदायविच विभिन्न समयमा भएका सम्झौताको मर्म प्रतिकुल हुँनेगरी राज्यका जिम्मेवार पदमा रहेका व्यक्तिहरुबाट बेलाबखत आउने यस्ता अभिव्यक्तिहरु सच्याई जिम्मेवार ढंगले प्रस्तुत हुँन सम्बद्ध सबैमा यो परिषद् बैठकले अव्हान गर्दछ ।

१५) नवप्रवेशी युवा तथा महिला शिक्षकहरूलाई सङ्गठनमा आकर्षित गर्ने गरी उनीहरूको लागि विशेष व्यवस्था गर्ने गरी संगठन तथा शिक्षक महासंघको विधानलाई समयानुकुल परिर्माजन गर्नुपर्ने यो परिषदको धारणा रहेको छ ।  

१६) राज्य पुर्नसंरचना भई पालिका तहको सरकार क्रियाशिल रहेको अवस्थामा शिक्षकका पेसागत हक हितका लागि सङ्गठन परिचालनलाई शसक्त ढंगले अगाडी बढाउन पोखरा महानगरपालिकाका ३३ ओटै वडाहरुमा वडा समिति मार्फत संगठन निर्माण र परिचालन सम्बन्धि प्रशिक्षण संचालन गर्ने घोषणा गर्दछ ।

 

Post a Comment

Previous Post Next Post