पोखराको ‍र्‍यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो

पोखराको ‍र्‍यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो

Education News

@edunewsnp

२०८२ जेठ ३२ गते शनिवार ११:४८

 पोखरा । पोखरामा शनिवार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको छ । पत्रकार तथा लेखक भुसालले कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेका सो पुस्तकमाथिको परिचर्चाको चाँजोपाँजो र्‍यान्डम...

 

पोखरा । पोखरामा शनिवार
रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको छ । पत्रकार तथा लेखक भुसालले
कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेका
सो पुस्तकमाथिको परिचर्चाको चाँजोपाँजो र्‍यान्डम रिडर्स सोसाइटीले मिलाएको थियो ।

सोसाइटीका अध्यक्ष
रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि अवधारणापत्र प्रस्तुत
गर्दै साहित्यकार रोशन शेरचनले पाठकले भौतिक र मानसिक दुवै यात्राको स्वाद
पुस्तकबाट पाउने धारणा राखे ।

लेखक भुसालले कर्णालीको
मुहान
,
तिब्बतको विकासका प्राथमिकता, सीमा नाका
सुरक्षा र तटीय बस्तीको समाजशास्त्रीय अवलोकन गरेर कृति लेखेको उनले बताए ।
शेरचनले भने
, ‘भुसाल कर्णालीको विस्तृति देखेर जति प्रभावित
हुन्छन्
, जलआश्रित आदिवासी महिलाको जर्जर अवस्था देखेर
उत्तिकै संवेदित बन्छन् ।’

साहसिक पर्यटनले
संस्कृतिको रूप नलिएको हाम्रो समाजमा आर्थिक अवस्था पनि अवरोध बनेको शेरचनले बताए
। ‘परिवारले पनि प्रोत्साहन नगर्ने यस्तो सामाजिक–सांस्कृतिक परिप्रेक्ष्यमा
छालबाटो र्‍याफ्टिङ संस्कृतितिर नियाल्ने सुन्दर आँखीझ्याल बनेको छ’ उनले भने ।

छालबाटोमा वर्णन मात्रै
नभएर लेखकका अनूभुतिहरू पनि प्रशस्तै आएका बताउँदै शेरचनले कृतिमा मूल कर्णालीलाई
निर्बाध बग्न दिनुपर्छ भन्ने कुराको उल्लेख भएको बताए । वातावरण विज्ञानमा
विद्यावारिधि गरेका शेरचनले पर्यावरणलाई केन्द्रमा राखेर नीति बनाउने हो भने त्यो
विद्यमान जिडिपी विकासको विपरीत उभिने भनाइ राखे । किताब पढ्दा हाँसो र सहानुभूति
एकसाथ उत्पन्न हुने आफ्नो पठन अनुभूति सुनाउँदै शेरचनले हाँसो र सहानुभूतिभाव
एकसाथ उत्पन्न गराउन सक्नु लेखकको शक्ति भएको बताए । पुस्तकमा आएका तथ्यहरूका कारण
छालबाटो यात्रावृत्तान्तमा सीमित नभई नदी प्रणालीको समाजशास्त्रीय र प्राकृतिक
विज्ञानको लिखत बनेको धारणा शेरचनको छ । शेरचनको ‘गल्ली संसार’ पछिल्लो समयको
चर्चित निबन्धकृति हो ।

कार्यक्रममा लेखक रमेश
भुसालले नेपालीहरू नदी प्रणालीप्रति आश्रित भएर पनि तिनलाई व्यावहारिक रूपमा माया
गर्न नसेकेको कुराले आफूलाई किताब लेखन प्रेरित गरेको बताए । हिमाल र नदीको
सम्बन्धलाई विकासका नाममा भएका कामले बाधा उत्पन्न गरेको बताउँदै उनले नदी
प्रणालीप्रतिको धारणा किताबमा राखेको सुनाए । नदी मानिसका लागि मात्र नभई बाघ वा
अन्य प्राणीका लागि पनि भएको उनको भनाइ छ । बाटो बनाउनका लागि पहाडहरू भत्काउने
परम्परा सही नभएको बताउँदै उनले पहाडलाई पैसा हुँदा काट्न सकिने तर पैसा हुँदा
जोड्न नसकिने बताए । किताबमा स्वाभाविक दृष्टि र धारणा राखेको उनको जिकिर छ ।
किताबले मानिसलाई एक पटक प्रकृति
, नदी र चराका बारेमा सोच्न
बाध्य बनाओस् भन्ने उद्देश्यले किताब लेखेको भुसालले बताए । वातावरणसम्बन्धी
रिपोर्टिङमा क्रियाशील भुसालले बिबिसीलगायत विभिन्न मिडियामा काम गरेका छन् ।

साहित्यकार सरुभक्तले
छालबाटो यात्रासंस्मरण मात्र नभई अनुसन्धानात्मक कृतिका रूपमा आफूले अध्ययन गरेको
बताए । स्थलगत अध्ययन गरेर लेखिएको किताब हुनाले पाठकलाई लेखकले आफूसँगै यात्रा
गराउन सफल भएको बताउँदै सरुभक्तले कुनै विषयमा कृति लेख्दा आवश्यक अध्ययन अनुसन्धान
गर्नुपर्ने विचार राखे । कर्णाली क्षेत्रको वातावरण
, समाज,
संस्कृति आदिको जानकारी दिने भएकाले कृति निकै महŒवपूर्ण बनेको उनको भनाइ थियो । गैरआख्यान र आख्यान भन्नु नै आवश्यक नभएको
बताउँदै उनले एकअर्कामा एकापसको गुण हुने विचार राखे । गैरआख्यानका रूपमा आएको छालबाटोमा
आख्यानको गुण भेटिनेसमेत उनको धारणा थियो । पर्यावरण र नदी प्रणालीको संरक्षणका
लागि आवाज उठाउने कृतिका रूपमा आफूले छालबाटो पाएको सरुभक्तले सुनाए ।

कार्यक्रममा सहसचिव
दीपक पराजुली र पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतले टिप्पणी गरेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए ।

सोसाइटीले हरेक महिनाको
अन्तिम शनिवार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।

प्रकाशित मिति २०८२ जेठ ३२ गते शनिवार ११:४८