पोखरा, कार्तिक ७ गते । साहित्य शृङ्खला पोखराको २८९औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा शृङ्खलाकी निवर्तमान अध्यक्ष लक्ष्मी थापा, सल्लाहाकार धनबहादुर नेपाली, लघुकथा प्रतिष्ठानका अध्यक्ष कल्याण पन्त, सचिव बिष्णु बास्तोला, पोखरेली युवा सांस्कृतिक परिवारका साहित्य संयोजक ढाकामोहन बराल, प्रगतिशील लेखक सङ्घ, कास्कीका अध्यक्ष छवि सुवेदी ´विजयी`, मार्क्सवादी अध्ययन श्रोत केन्द्रका अध्यक्ष झलकपाणि तिवारी, कलाकार यादवचन्द्र भुर्तेल, गण्डकी साहित्य सङ्गमका सचिव नारायण मरासिनीले रचना वाचन गरेका थिए । त्यसै गरी हृषिकेश बराल, तेजनारायण अधिकारी, भक्त रसाइली, लक्ष्मीप्रसाद पौडेललगायतका स्रस्टाले आफ्ना रचना सुनाएका थिए ।
कार्यक्रममा सल्लाहकार नारायण परिश्रमीले शृङ्खलामा लामो समयसम्म गरेका पूर्वउपाध्यक्ष एवम् आलोक शृङ्खलाका सम्पादक ताराप्रसाद तिम्सिनाको स्मृतिमा स्मृति ग्रन्थ प्रकाशनका लागि तिम्सिनाको परिवारसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
वाम बुद्धिजीवी तथा सांस्कृतिक रूपान्तरण अभियानका अभियन्ता रामजी थापाले दसैँ, तिहार, तिज जस्ता चाडपर्वहरूलाई प्रगतिशील ढङ्गले मनाउन सुझाएका थिए ।
पृथ्वीनारायण क्याम्पसका पूर्वप्रमुख गेहेन्द्रेश्वर कोइरालाले शृङ्खलामा विविध रचनाहरू आएकामा खुसी व्यक्त गर्दै हाम्रो जीवनलाई पाखण्ड बनाउन नहुने धारणा राखे । आध्यात्मावादलाई परित्याग गर्दै भौतिकवादी चेतना अँगाल्नुपर्नेमा उनले जोड दिए । दसैँलाई प्रगतिवादीहरूले कसरी हेर्ने भन्ने बारेमा वक्ताहरूले आआफ्ना धारणा प्रस्तुत गरेका थिए ।
शृङ्खलाका अध्यक्ष लक्ष्मण गौतम ‘हिमाली’ को अध्यक्षतामा भएको कार्यक्रममा लोचना अधिकारीले स्वागत गरेकी थिइन् । कार्यक्रममा पवन शर्मा तिमिल्सिना, समाजसेवी रामबहादुर बानिया, चियाङ तमू, शिशिर अधिकारीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव काजी गाउँलेले गरेका थिए । शृङ्खलाको नियमित रचना वाचन कार्यक्रम प्रत्येक महिनाको पहिलो शनिवार पश्चिमान्चल माविको सभाहलमा हुने गर्दछ ।
प्रकाशित मिति कार्तिक ७, २०८३






