घनश्याम खड्काको ‘आनन्द संहिता’ को पोखरामा चर्चा

घनश्याम खड्काको ‘आनन्द संहिता’ को पोखरामा चर्चा

Education News

@edunewsnp

२०८१ भदौ २९ गते शनिवार ०१:४७

 पोखरा, भदौ २९ गते । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा घनश्याम खड्काको नवीनतम कृति ‘आनन्द संहिता’ को चर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि संस्थाकै सहसचिव दीपक...

 

पोखरा, भदौ २९ गते । र्‍यान्डम
रिडर्स सोसाइटीले शनिवार पोखरामा घनश्याम खड्काको नवीनतम कृति ‘आनन्द संहिता’ को
चर्चा गरेको छ ।

सोसाइटीका
अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि संस्थाकै
सहसचिव दीपक पराजुलीले अवधारणापत्र प्रस्तुत गरेका थिए । ‘मिथ्या’ उपन्यासका
लेखकसमेत रहेका साहित्यकार पराजुलीले ‘आनन्द संहिता’ लाई स्वसहयोगी कृति मात्रै
नभई पाठकलाई बोध र बुद्धत्वतर्फ अभिमुख गराउने चेष्टा गरिएको कृतिका रूपमा चित्रण
गरे ।  ‘यो पुस्तकमा घनश्याम दार्शनिक चिन्तकका रूपमा प्रस्तुत भएका छन्
यद्यपि सारमा यो कृति आध्यात्मिक देशना हो
, जसको प्राथमिक स्रोत हो बुद्ध दर्शन र साथमा गीताउपनिषद्योग र तन्त्र पनि जोडिएका छन् ।’
पराजुलीले भने
, ‘यसको व्याख्याको केन्द्र भनेको मनोविज्ञान
हो जसका लागि आत्मावलोकनदेखि ध्यानसम्मका साधनात्मक सुझावहरू यसमा पेस गरिएका छन्
।’ उनले कृतिलाई मानसिक उपचारको सूत्रका रूपा चर्चा गरे ।

‘आनन्द
संहिता’ सुखतर्फ होइन आनन्दतर्फ अभिमुख हुन प्रेरणा दिने पुस्तक भएको तर्क गर्दै
पराजुलीले यो कृति साधारण सिर्जना मात्र नभएर आध्यात्मिक चिन्तनको परिणाम भएकोमा
जोड दिए । ‘पाठकलाई बोधको तहमा लैजाने
आफैँभित्र शान्ति र सुन्दरता अनुभूत गराउने प्रयासमा लेखक सफल भएका छन् ।’
उनको भनाइ थियो । पाठकका मनमा शान्तिको अनुभूति गराउने एउटा अमूल्य उपहारका रूपमा
‘आनन्द संहिता’ आएको बताउँदै कृतिको महत्त्व समयसँगै झनै बढ्दै जाने पराजुलीले
निष्कर्ष सुनाए ।

लेखक
खड्काले सबै मानिसले जुनसुकै माध्यमबाट भए पनि आनन्दको खोजी गर्ने र आनन्द प्राप्त
गर्नका लागि आफूले बुझेका उपायहरूसहितका विचार पुस्तकमा प्रस्तुत गरेको बताए ।
‘फिलोसफी’ र ‘दर्शन’ पर्यायवाची शब्दका रूपमा लिने गरिए पनि यसमा भिन्नता रहेको
भन्दै खड्काले अरूमाथिको तर्कशास्त्र फिलोसफी र आफैँमाथिको ज्ञान र देखिएको यथार्थ
विषयवस्तु प्रस्तुत गर्नु दर्शन भएको धारणा राखे । आजको शिक्षाले सुल्झाउनुपर्नेमा
उल्झाइराखेको बताउँदै उनले आजका विद्यार्थीलाई ‘माइन्डफुलनेस’ को अभ्यासमा लगाउनु
आजको आवश्यकता भएको सुनाए ।

‘आनन्द
संहिता’ स्वयम्‌को चिन्तन गर्नका लागि आग्रह गर्ने रचना भएको लेखक खड्काको भनाइ
थियो । कान्तिपुर दैनिकमार्फत पत्रकारितामा समेत क्रियाशील खड्काको यसअघि बुद्ध
दर्शनमा आधारित उपन्यास ‘निर्वाण’ (२०७२) सहित पुतलीको घर
, न्यायको अवसान, दरबारको
दुःखान्तलगायतका कृतिहरू प्रकाशित छन् ।

पोखरा
महानगरपालिकाका प्रमुख धनराज आचार्यले पठन संस्कृतिले नै मानिसमा विवेक निर्माण
गर्ने धारणा राखे । पढाउनुपर्ने र पढ्नुपर्नेले मात्र नभई आम मानिसले पढ्नुपर्ने
भन्दै आचार्यले आफ्नो व्यक्तिगत पुस्तकालयमा आफूले पढेका थुप्रै पुस्तकहरू रहेको
स्मरण गरे । पुस्तक व्यवसायमा संलग्न रहँदा पुस्तकसम्बन्धी नीति निर्माणका लागि
आफू लागेको र राज्यको तहसम्म छलफल गरेको भन्दै उनले आज पाठ्यपुस्तकको मूल्यमा केही
हदसम्म व्यवस्थापन भए पनि साहित्यिक कृतिको व्यवस्थापनका लागि कार्य गर्न बाँकी
रहेको भनाइ राखे । घनश्याम खड्काको किताबले आनन्दित रहने कला सिकाउने विचार राख्दै
व्यक्ति
, वस्तु र परिस्थितिलाई स्वीकार गरे दुःख
नहुने मेयर आचार्यले बताए । पठन संस्कृतिको विकासका लागि लाग्नुपर्ने उनको भनाइ
थियो ।

नेपाल
सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले लेखकहरू केवल
लेखनमा मात्र लागेर नपुग्ने धारणा राखे । अरूले के लेखेका छन् भन्ने पढ्नुपर्नेमा
जोड दिँदै सरुभक्तले आनन्द प्राप्त गर्ने शैलीअनुसार गुणस्तरमा फरक पर्ने बताए ।
मानवीय जीवनका सबै क्रियाकलापहरू मस्तिष्कको खेल भएको उनले बताए । आनन्दलाई आफूले
अहमको तुष्टिसँग तुलना गर्ने गरेको उनले बताए । तनावग्रस्त विश्वलाई मुक्त गराउनका
लागि ‘आनन्द संहिता’ जस्ता कृतिहरू आउनुपर्ने सरुभक्तले बताए ।

कार्यक्रममा
सरस्वती प्रतीक्षा
, बाबुराम
सुवेदी
, रामबहादुर माल, राममणि अधिकारी,
श्रीकृष्ण पन्थीलगायतले कृतिकार र परिचर्चाकारलाई प्रश्न गरेका थिए
 सोसाइटीको नियमित मासिक परिचर्चा कार्यक्रमको १०९ औँ
शृङ्खलाको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । संस्थाले हरेक महिनाको
अन्तिम शनिवार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।

 

प्रकाशित मिति २०८१ भदौ २९ गते शनिवार ०१:४७