रेडक्रसको वक्‍तृत्वकलामा ओख्लेडाँडाका बराल प्रथम

रेडक्रसको वक्‍तृत्वकलामा ओख्लेडाँडाका बराल प्रथम

Education News

@edunewsnp

२०८२ भदौ १९ गते बिहिबार ०३:१३

 पोखरा, भदौ १९ गते । नेपाल रेडक्रस सोसाइटी, कास्कीद्वारा आयोजित जिल्लास्तरीय वक्‍तृत्वकला प्रतियोगितामा ओख्लेडाँडा भुम्दीकोट माविका शरद बराल प्रथम भएका छन् ।नेपाल जुनियर रेडक्रस सर्कल, अमरसिंह माविको व्यवस्थापनमा बिहीवार...

 


पोखरा, भदौ १९ गते । नेपाल रेडक्रस सोसाइटी, कास्कीद्वारा आयोजित जिल्लास्तरीय वक्‍तृत्वकला प्रतियोगितामा ओख्लेडाँडा भुम्दीकोट माविका शरद बराल प्रथम भएका छन् ।

नेपाल जुनियर रेडक्रस सर्कल, अमरसिंह माविको व्यवस्थापनमा बिहीवार सम्पन्न प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी दीपशिखा क्षेत्री, अमरसिंह माविकी सुसन्ध्या पौडेल र बालमन्दिर माविका सुरज गुरुङ क्रमशः द्वितीय, तृतीय र सान्त्वना भए । कास्कीका २७ विद्यालयको सहभागिता रहेको प्रतियोगिताका निर्णायकहरूमा साहित्यकार रुपिन्द्र प्रभावी र कार्यमूलक नेपाली व्याकरण, बोध तथा अभिव्यक्तिका लेखक बाबुराम सुवेदी रहेका थिए ।

अमरसिंह मावि सर्कलकी अध्यक्ष भाषिका सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका, शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले मानवताका लागि अनवरत सेवारत रेडक्रसले विद्यार्थीको प्रतिभा विकासका लागि पनि महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीकी जिल्ला अध्यक्ष उर्मिला खड्का, जुनियर तथा युवा संयोजक तथा उपमन्त्री डिल्लीराम बराल, अमरसिंह माविका विव्यस अध्यक्ष कृष्णप्रसाद कोइराला, प्रधानाध्यापक बलराम पोखरेल, सहायक प्रधानाध्यापक सुदिप आचार्य, सर्कल जिल्लाका मन्त्री सन्तोष अधिकारीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सर्कल अमरसिंह माविकी शिक्षक नायक सम्झना कट्टेलले गरेकी थिइन् ।

प्रकाशित मिति २०८२ भदौ १९ गते बिहिबार ०३:१३