पशुपालनमा जलवायु संकटः गण्डकी प्रदेशको अनुसन्धान प्रतिवेदन सार्वजनिक

पशुपालनमा जलवायु संकटः गण्डकी प्रदेशको अनुसन्धान प्रतिवेदन सार्वजनिक

Education News

@edunewsnp

२०८२ साउन ११ गते शनिवार १२:४४

 पोखरा, १० साउन । गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको प्रभाव र किसानहरूले अपनाएका अनुकुलन रणनीतिसम्बन्धी सहकार्यात्मक अनुसन्धान प्रतिवेदन शनिबार पोखरामा सार्वजनिक गरिएको छ । त्रिभुवन विश्वविद्यालय,...

 

पोखरा, १० साउन । गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको प्रभाव र किसानहरूले अपनाएका अनुकुलन रणनीतिसम्बन्धी सहकार्यात्मक अनुसन्धान प्रतिवेदन शनिबार पोखरामा सार्वजनिक गरिएको छ । 

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित अनुसन्धान समन्वय तथा विकास परिषदअन्तर्गतको अनुसन्धान विभागले वित्तीय सहयोग गरेको परियोजनाको नतिजा सार्वजनिक गोष्ठीमा प्रस्तुत गरिएको हो । अनुसन्धान गण्डकीका पाँच जिल्लाका १ हजार १ सय ५८ घरधुरी र ११ वटा समूहगत छलफलबाट संकलित तथ्यमा आधारित थियो ।

अनुसन्धान परियोजनाका प्रमुख अनुसन्धानकर्ता (प्रिन्सिपल इन्भेस्टिगेटर) प्राडा विकासकुमार केसीले प्रतिवेदन प्रस्तुत गर्दै गण्डकी प्रदेशमा तापक्रम बृद्धि र वर्षा घट्दो क्रममा रहेको तथ्य प्रस्तुत गरे । गोष्ठीमा जनाइएअनुसार जलवायु परिवर्तनका प्रतिकूल प्रभाव पशुपालनमा प्रत्यक्ष देखिन थालेका छन् । पशु स्वास्थ्य, प्रजनन क्षमता, उत्पादन र आहारको अभाव जस्ता समस्या तीव्र भएको बताइएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अनुसन्धान विभागका निर्देशक प्राडा किशोर कोइरालाले विश्वविद्यालयमा अनुसन्धानको संस्कृतिको विकास हुँदै गएको उल्लेख गर्दै आज सहकार्यात्मक अनुसन्धानका लागि पर्याप्त बजेट भएकोले प्राध्यापकहरूले ज्ञान निर्माणतर्फ गम्भीर हुनुपर्ने बताए । अनुसन्धान विभागका प्रमुख प्राडा नरेन्द्र खनालले बारम्बारको प्रस्तुति र संशोधनपछि तयार भएको यो प्रतिवेदन नीति निर्माण र कार्यान्वयनमा मार्गदर्शक बन्न सक्ने बताए ।

गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले यो अनुसन्धान क्यु वान जर्नल र अन्य ८ वटा प्रतिष्ठित जर्नलहरूमा प्रकाशन भएको जनाउँदै यसको अन्तर्राष्ट्रिय महत्व रहेको बताए । उनले कृषि विकासमा पशुपालनको अनिवार्यता औंल्याउँदै शोधले किसानका समस्यालाई समेटेकोमा प्रशंसा गरे ।

अनुसन्धान प्रतिवेदनमाथि प्राडा लेखनाथ भट्टराई, प्राडा शोभाकान्त लामिछाने, डा. लिला पुरी, डा. श्रीकान्त शर्मा खतिवडा, डा. कृष्ण पौडेल, डा. शान्त खत्री, डा. रामजी पोखरेल, डा. खगेन्द्र शर्मा, भानु पराजुली, सुरेश रानाभाट लगायतले धारणा राखेका थिए । सहभागीहरूको जिज्ञासालाई जवाफ दिँदै टिम लिडर प्राडा विकासकुमार केसीले आगामी दिनमा थप अनुसन्धान गर्ने प्रतिबद्धता जनाए । परियोजनामा प्राडा विकासकुमार केसीसँगै डा. अनन्तराज ढुंगाना र डा. पूर्णबहादुर खाँडको सक्रिय सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८२ साउन ११ गते शनिवार १२:४४