समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न

समिभञ्ज्याङमा  चैते दसैँको अवसरमा  हाफ अल्ट्रा म्याराथन सम्पन्न

Education News

@edunewsnp

२०८२ चैत १२ गते बिहिबार ०२:१६

 पोखरा, चैत १२ गते । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङमा विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैते दसैँको अवसरमा आज प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न भएको छ । उद्घाटन सत्रका...

 

पोखरा,
चैत १२ गते ।
लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ५
समिभञ्ज्याङमा विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैते
दसैँको अवसरमा आज प्रथम खुला हाफ अल्ट्रा म्याराथन सम्पन्न भएको छ ।

उद्घाटन सत्रका प्रमुख
अतिथि मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले रिबन काटेर दौड उद्‍घाटन गरेका
थिए । मेयर पाण्डेले मध्यनेपाल आफैँमा ऐतिहासिक एवम् धार्मिक महत्त्व बोकेको स्थल
भएको र यस्ता खालका कार्यक्रमले झन् यस क्षेत्रको प्रचारप्रसारमा सघाउने कुरामा
जोड दिए । वडा नं. ७ करापुटारमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ईशानेश्वर महादेव
मन्दिर प्राङ्गणबाट सुरु भएको दौड  वडा नं.
६ भोर्लेटार हुँदै मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङको विभिन्न स्थानीय
बस्ती हुँदै  तान्द्राङकोट नागभैरव थानमा
गएर समापन भएको थियो ।

देशका विभिन्न
क्षेत्रबाट ८० जना धावकहरू सहभागी रहेको दौडमा गोरखाका धावक निरज भट्ट क्षत्रीले
निर्धारित २१ किलोमिटरको दूरी १ घण्टा ३२ मिनेट ४८ सेकेन्डमा पार गरी प्रथम भई नगद
४० हजार रुपियाँ
, ट्रफी, मेडल
र प्रमाणपत्र प्राप्त गरेका छन् । रामेछापका श्याम लामा भोटेले १ घण्टा ३४ मिनेट
२८ सेकेन्डमा पार गरी दोस्रो भएर नगद २५ हजार रुपियाँ
, ट्रफी,
मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै स्याङ्जाका धावक धनु
मानन्धरले १ घण्टा ३४ मिनेट ५४ सेकेन्डमा पार गरी तेस्रो स्थान हासिल गरी नगद १५
हजार
, ट्रफी, मेडल र प्रमाणपत्र
प्राप्त गरेका छन् भने तनहुँका सनम गुरुङ
, रामेछापका अमित
राई
, सोलुखुम्बुका मिलन कुलुङ, भोजपुरका
उमेश बिष्ट
, तनहुँका आदित्य जि.सि. र नवलपुरका रिखुलाल
सिञ्जालीले सान्त्वना पुरस्कार स्वरूप नगद ३ हजार रुपियाँ
, मेडल
र प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरस्कार वितरण एवम्
समापन समारोह क्लबका अध्यक्ष बाबुराम मल्लको अध्यक्षता र वडा नं. ५ का वडा अध्यक्ष
ओमवीर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । तान्द्राङकोट पैदल मार्ग
पर्यटन विकासका अध्यक्ष मेम बहादुर गुरुङले तान्द्राङकोटको ऐतिहासिक तथा धार्मिक
महत्त्वका बारेमा प्रकाश पारेका थिए ।

वडाअध्यक्ष गुरुङले
समुन्द्री सतहदेखि करिब १५०० मिटरको उचाइमा रहेको यो क्षेत्र बिस्तारै आन्तरिक तथा
बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बताए । कार्यक्रममा रेफ्रीहरू विश्वास के.सी.
र सञ्जित काफ्लेलाई सम्मान गरिएको थियो । व्यास नगरपालिका वडा नं. ५ का अध्यक्ष
हिमाल श्रेष्ठ
, स्थानीय समाजसेवी देवप्रसाद श्रेष्ठलगायतले
मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम क्लबका सचिव इभन जोशीले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति २०८२ चैत १२ गते बिहिबार ०२:१६