स्याङ्जामा राष्ट्रिय प्रतिभा पुरस्कार स्थापना

 


स्याङ्जा । स्याङ्जाको साहित्यिक इतिहासमा विशेष महत्त्वपूर्ण अर्थ राख्ने किसिमको नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार स्थापनाको घोषणा समारोह आज दिउँसो सम्पन्न भएको छ ।

अग्रज साहित्यकार व्यक्तितब स्वर्गीय नारायणप्रसाद ज्ञवालीको प्रथम वार्षिक पुण्य तिथिको सन्दर्भमा नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार कोष, गल्याङ नगरपालिका- ११, दिमिक, कुमाल्दी, स्याङ्जाको आयोजनामा शनिबार गल्याङ- ११, दिमिक, कुमाल्दीस्थित स्वर्गीय नारायणप्रसाद ज्ञवालीको घरको आगनमा कोषको पहिलो कार्यक्रमको रूपमा समारोह सम्पन्न गरिएको थियो ।

अनौपचारिक रूपमा आयोजना गरिएको कृति लोकार्पण तथा स्मृति पुरस्कार स्थापनाको घोषणा कार्यक्रममा स्वर्गीय नारायणप्रसाद ज्ञवालीद्वारा लेखिएका अनि मिलन समीरद्वारा सम्पादन गरिएका संस्मरण र नियात्राहरुको कृति " ती दिनहरु " को लोकार्पण उक्त समारोहमा समुपस्थित सम्पूर्ण परिवारजन, आफन्त, इष्टमित्र एवम साहित्यकार महानुभावहरुद्वारा संयुक्त रूपमा गरिएको थियो ।

समारोहमा स्वर्गीय नारायणप्रसाद ज्ञवालीको स्मृतिमा उहाँको परिवारजनको तर्फबाट हरेक वर्ष नारायणप्रसाद ज्ञवालीको पुण्य तिथि अर्थात् नारायणप्रसाद ज्ञवाली स्मृति दिवसको सन्दर्भ पारेर राष्ट्रियस्तरका साहित्यकारहरुमध्ये एक जनालाई नगद राशि रु. २५ हजार ५ सय २५ /- सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गर्नेगरि नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार कोष- २०८१ स्थापनाको घोषणा गरिएको थियोे ।

साथै उक्त पुरस्कार २०८२ सालको नारायणप्रसाद ज्ञवालीको दोस्रो वार्षिक पुण्य तिथि अर्थात उहाँको स्मृति दिवसको अवसरमा पहिलोपटक प्रदान गरिने भएको छ ।

समारोहमा नारायणप्रसाद ज्ञवालीको व्यक्तित्वको बारेमा उहाँका सहकर्मी अग्रज कवि चण्डिकाप्रसाद भट्टराईद्वारा मन्तव्य प्रस्तुत गरिएको थियो ।

लोकार्पण गरिएको कृतिको सन्दर्भमा केन्द्रित रहेर युवा स्रष्टा सागर काफ्लेद्वारा समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको सहजीकरण युवाकवि मिलन समीरद्वारा गरिएको थियो ।

कार्यक्रममा साहित्यकार व्यक्तित्वहरु चण्डिकाप्रसाद भट्टराई, तोरणराज बस्याल, गुरुप्रसाद ढकाल, लोकहरि पाण्डेय क्षितिज, प्रेमबन्धु सुवेदी, ढालबहादुर के.सी.,अनन्त अर्याल, मदनकुमार पौडेल, लेखनाथ चापागाईं, रामप्रकाश उपाध्याय, मदनप्रसाद ज्ञवाली, विष्णुप्रसाद अधिकारी र लीलाराम ज्ञवाली आदिद्वारा आफ्ना उत्कृष्ट रचनाहरुको  वाचन तथा नारायणप्रसाद ज्ञवालीको व्यक्तित्वको बारेमा प्रकाश पारिएको थियो ।

Post a Comment

Previous Post Next Post