पाल्पाली सहकारीको अध्यक्षमा गीतकार रेशम रचक

पाल्पाली सहकारीको अध्यक्षमा गीतकार रेशम रचक

Education News

@edunewsnp

२०८३ असोज ३ गते शनिवार ०३:२३

पोखरा, असोज ३ गते । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था पोखराको सञ्चालक समितिको अध्यक्षमा साहित्यकार रेशमराज थापा (रचक) निर्वाचित भएका छन् । यसअगि पाल्पाली समाजका अध्यक्ष भई कार्यसम्पादन गरिसकेका थापा गीतकार प्रतिष्ठान, नेपाललगायत...

पोखरा, असोज ३ गते । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था पोखराको सञ्चालक समितिको अध्यक्षमा साहित्यकार रेशमराज थापा (रचक) निर्वाचित भएका छन् । यसअगि पाल्पाली समाजका अध्यक्ष भई कार्यसम्पादन गरिसकेका थापा गीतकार प्रतिष्ठान, नेपाललगायत विभिन्न संस्थामा क्रियाशील छन् ।

शनिवार पोखरामा सम्पन्न आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिका उपाध्यक्षमा सुनिलप्रसाद अर्याल, सचिवमा युमाया पुन पचभैया, कोषाध्यक्षमा पदमप्रसाद पोखरेल तथा सदस्यमा रमेशकुमार पौडेल, गिरिराज पोखरेल, इन्दिरा कँडेल, निर्मला विक, अनुपमान कर्माचार्य चयन भए ।

सो अवसरमा सहकारी पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार विजय नेपाल सम्मानित भए ।

यसै गरी, लेखा समिति संयोजकमा दामोदर बस्याल तथा सदस्यमा ऋषिराम सिग्देल र डिलेश्वर आचार्य चयन भएको निर्वाचन समिति संयोजक श्यामनाथ कुँवरले जानकारी दिए । निर्वाचन समिति सदस्यमा संस्थाका कानुनी सल्लाहकार अधिवक्ता विष्णुप्रसाद लम्साल र प्रेस सल्लाहकार अधिवक्ता विजय नेपाल थिए ।

त्यसअघि, कार्यक्रम उद्घाटनको उद्घाटन प्रमुख अतिथि वरिष्ठ बालरोग विशेष डा. हुमप्रसाद न्यौपानेले गरेका थिए । संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले अध्यक्षको प्रतिवेदन एवम् भावी कार्यक्रम प्रस्तुत गरे । कोषाध्यक्ष उमा सापकोटाले आर्थिक तथा लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रगति प्रतिवेदन संयोजक सुनिलप्रसाद अर्यालले प्रस्तुत गरे ।

सो अवसरमा सहकारीका परिकल्पनाकार पूर्व अध्यक्ष कुलप्रसाद घिमिरे, अग्रज व्यक्तित्व जनपुकार मुनकमी, पाल्पाली समाज, पोखराका अध्यक्ष श्रीधर पराजुलीलगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले केही सहकारी संकटमा गएको बेलामा पाल्पाली सहकारीलाई भने सधैँ सफल र समुन्नत बनाउन सहयोग गर्ने सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, सल्लाहकार एवं शुभचिन्तकप्रति आभार व्यक्त गरे । जाँदाजाँदै उनले मायाको चिनो पनि प्रदान गरे । उनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बाबुराम खनाल र सञ्चालन सचिव रेशम थापाले गरे ।

सहकारीमा उत्कृष्ट बचत कारोबार गर्ने शेयर सदस्य सरस्वती श्रेष्ठ र उत्कृष्ट आर्थिक कारोबार गर्ने लोकबहादुर राना, शेयर सदस्यका छोराछोरीमध्ये एसईई उत्तीर्ण विल्सन न्यौपाने (४ जिपिए), शिचु श्रेष्ठ, सात्विक विक्रम शाह, दीक्षित गौतम, मिलन घर्तीमगर सम्मानित भएको सहकारीका नवनिर्वाचित अध्यक्ष रेशमराज थापाले बताए । २०७६ सालमा स्थापित सहकारीमा हाल ५ सय ३४ शेयर सदस्य छन् ।

 

प्रकाशित मिति २०८३ असोज ३ गते शनिवार ०३:२३