पोखरा, असोज १७ गते । पोखरा महानगरपालिका वडा नं.४ गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा पाइला फाउण्डेसनसँगको सहकार्यमा चारदिने पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ४ देखि ९ कक्षासम्मका विद्यार्थीहरूले आफ्नो पाठ्यपुस्तकबाहेक आफूले अध्ययन गरेका विभिन्न साहित्यिक कृतिहरूमध्ये आफूलाई उत्कृष्ट लागेको पुस्तकमाथि विद्यार्थीहरूले आफ्ना विचार व्यक्त गरेका थिए । गत मङ्गलवारदेखि सुरु भएको पुस्तक परिचर्चा कार्यक्रम चार दिनसम्म विद्यालयमा सञ्चालन गरिएको थियो । शुक्रवारको समापन समारोह विद्यालयका सह प्राचार्य मुकेश कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यार्थीले पढेका कुरालाई आफ्ना अभिभावकहरूको उपस्थितिमा नै पुस्तकको विभिन्न पक्षका बारेमा निकै सुन्दर शैलीमा परिचर्चा गरेका थिए । पाइला फाउण्डेसनका सिइओ नरेन्द्रकुमार नगरकोटीले फाउन्डेसनले अहिले नेपालको विभिन्न ठाउँमा पठन संस्कृतिको क्षेत्रमा काम गर्दै आइरहेको बताए । पोखराका विभिन्न विद्यालयहरूमा यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी गराए । आफ्ना छोराछोरीको प्रस्तुति हेर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया अभिभावक प्रमिला पालिखेले व्यक्त गरे ।
विद्यार्थीमा आफूले पढेका कुरालाई बाहिर व्यक्त गर्दा उनीहरूमा वाक्कलाको विकासमा टेवा पुग्ने हुनाले विगतदेखि नै विद्यालयमा पुस्तक परिचर्चा कार्यक्रम सञ्चालन गरिँदै आएको र यस अवधिभर जम्मा ११४ जना विद्यार्थीले विभिन्न पुस्तकमाथि आफ्नो धारणा व्यक्त गरेका थिए ।







