पोखरा । पोखरा महानगरपालिका वडा नं .४ मा सञ्चालित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा मंगलवार काठमाडौंस्थित निसर्ग बाटिका विद्यालयका विद्यार्थीहरूले अवलोकन भ्रमण गरेका छन् ।
विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर उक्त टोलीलाई विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले स्वागत गर्नुभएको थियो । संस्कृति आदानप्रदान गर्ने उद्देश्यले हरेक वर्ष कुमुदिनी होम्स र निसर्ग बाटिकाले विद्यार्थीहरूलाई भ्रमण गराउँदै आइरहेको छ। कक्षा ९ की छात्रा प्रतिष्ठा के. सी. ले स्वागत मन्तव्य व्यक्त गरेकी कार्यक्रममा कक्षा १० का आभना सिंह विश्वकर्मा र दिव्या आचार्यले विद्यालयको परिचय र पोखराको विभिन्न सांस्कृतिक पक्षहरूका बारेमा जानकारी गराएका थिए । दुवै विद्यालयका विद्यार्थीहरूले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

विद्यालयका सह प्राचार्य मुकेशकुमार अधिकारीले निसर्ग बाटिका विद्यालयका शिक्षक निशा बस्नेतको नेतृत्वमा आएको विद्यार्थी तथा शिक्षकको टोलीलाई विद्यालय परिसरमा भएको सामाजिक सङ्ग्रहालय, आर्ट ग्यालरी, अत्याधुनिक पुस्तकालय, चिडियाघर लगायतका विभिन्न क्षेत्रको बारेमा अवलोकन एवम् जानकारी गराउनुभएको थियो ।
प्रकाशित मिति मंसिर १, २०८३






