पोखरा, असोज २९ गते । साहित्यकार मदनराज थापाको पहिलो कविताकृति ‘त्यो खाली ठाउँ’ को बिहिवार पोखरामा लोकार्पण गरिएको छ ।
जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल र कवि घर पोखराद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ र विम्बकवि रमेश श्रेष्ठले कृतिको लोकार्पण गरे ।
वरिष्ठ साहित्यकार सरूभक्तले ब्रम्हाण्डमा सूर्यभन्दा हजारौँ गुणा ठुला अनेकौँ ग्रहहरू रहे पनि खाली ठाउँ रहेको चर्चा गर्दै कवि मदनराज थापाले ‘त्यो खाली ठाउँ’ कृतिमा दार्शनिक चेत प्रस्तुत गरेको बताए । थापाले आफूलाई बाल्यकालमा पढाएको समयको समेत स्मरण गर्दै सरुभक्तले उनको कवि व्यक्तित्वबाट आफू प्रभावित भएको अनुभव सुनाए ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कविता र लोकप्रियताको मानक फरक भएको बताउँदै इमानसहितको सिर्जना कालजयी हुने धारणा राखे ।
कविता र लोकार्पित कृतिबारे चर्चा गर्दै कविता क्लबका अध्यक्ष विम्बकवि रमेश श्रेष्ठले मदनराज थापा जन्मजात कवि व्यक्तित्व भएकाले उनका कवितामा कवित्व फेला पर्ने बताए । जनकविकेशरी धर्मराज थापाको पारिवारिक विरासत बोके पनि मदनले आफ्नो पहिचान कविताबाट दिएको श्रेष्ठको भनाइ थियो ।
स्रष्टा मदनराज थापाले कविता कुरा नभएर कोरिने विषय भएको बताउँदै आफू स्वदेश विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन तथा विभिन्न अनुभव बटुल्दै नेपाली साहित्य र संस्कृतिको उन्नयनमा लाग्दै आएको बताए ।
कविघर पोखराका अध्यक्ष कुञ्जराज थापाले महाकवि लक्ष्मीप्रसाद देवकोटाले चुरोटको बट्टाको भित्री कागजमा रहेको त्यो खाली ठाउँ कविताले भर्ने गरेको दृष्टान्त हाम्रा माझ भएका बेला मदनराज थापाले देखेको खाली ठाउँको बहस आजको आवश्यकता भएको बताए ।
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका अध्यक्ष नारायणप्रसाद अधिकारीले जनकविकेशरी धर्मराज थापाको विरासतलाई जीवन्त राख्नका लागि मदनराज थापाको साहित्यिक राजमार्ग फराकिलो भएर अगाडि बढ्न आवश्यक रहेको धारणा राखे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले गुणात्मक उपस्थितिका बिचमा लोकार्पित ‘त्यो खाली ठाउँ’ भित्रका कविताले हरेक खाली ठाउँबारे प्रश्न गरिरहेको बताए ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का ‘बिखर्ची’, पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति तिलक पुर्जा पुनलगायतले शुभकामना व्यक्त गरेका थिए भने रुपिन्द्र प्रभावी र अम्बिकाप्रसाद भट्टराईले कृतिभित्रका कविता वाचन गरेका थिए ।
प्रकाशित मिति २०८३ असोज २९ गते बिहिबार ०९:५२





