कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न

Education News

@edunewsnp

२०८३ असोज २४ गते शनिवार १२:१३

कविहरूले महिलालाई हेप्ने पितृसत्तात्मक समाजप्रति तीव्र रोष प्रकट गर्दै देवी वा यस्तै अन्य उपमा दिँदैमा मक्ख नपर्न नारीहरूलाई नै आह्वान गरेका थिए । उनीहरूले दसैँ, नारी अधिकार, नारीशक्ति र समसामयिक विषयमा कविता सुनाएका थिए ।

कवितामार्फत नारीशक्तिको महिमागान

पोखरा, असोज २४ गते । कविता क्लबले बडा दसैँको अवसर पारेर शनिवार पोखरामा नौ जना नारी कविहरूको सामूहिक कविता वाचन सम्पन्न गरेको छ ।

‘नवदुर्गा कविता उत्सव’ नाम दिइएको कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरू’, रीता अधिकारी ‘ऋतु’, छन्दिका त्रिपाठी, चन्द्रावती वाग्ले, गीता तिवारी, प्रतिमा गुरुङ, बिर्सना बस्नेत, लक्ष्मी थापा र जुना थापाले नारीशक्ति र नारी अधिकारबारे कविता सुनाएका थिए । कविहरूले महिलालाई हेप्ने पितृसत्तात्मक समाजप्रति तीव्र रोष प्रकट गर्दै देवी वा यस्तै अन्य उपमा दिँदैमा मक्ख नपर्न नारीहरूलाई नै आह्वान गरेका थिए । उनीहरूले दसैँ, नारी अधिकार, नारीशक्ति र समसामयिक विषयमा कविता सुनाएका थिए ।

कार्यक्रमका अध्यक्ष तथा क्लबका समेत अध्यक्ष विम्बकवि रमेश श्रेष्ठले कविता क्लबले नेपाली कविताको उत्थानका लागि साठीको दशकदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए । वाचित कविताहरूको सङ्क्षिप्त समीक्षा गर्दै उनले कवितामा प्रस्तुत विचारले नारीभित्र बर्सौँदेखि जकडिएर रहेका पीडा प्रस्तुत भएको बताए । आगामी दिनमा कविताको विकासका लागि ‘स्कुलमा कविता’ कार्यक्रम आयोजना गर्नका लागि विभिन्न विद्यालयसँग कुरा भइरहेको पनि श्रेष्ठले जानकारी दिए ।

क्लबका उपाध्यक्ष पदमराज ढकालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

प्रकाशित मिति २०८३ असोज २४ गते शनिवार १२:१३