लमजुङ, कार्तिक ३ गते । मङ्गला पूर्व विद्यार्थी समाज, मध्यनेपाल–३, सुर्यपाल, सोतीपसल, लमजुङको आयोजनामा पुनर्मिलन एवम् बडा दसैँको शुभकामना आदानप्रदान कार्यक्रम मङ्गला माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
कार्यक्रममा मङ्गला माविका पूर्व विद्यार्थी, विद्यालयसँग सम्बन्धित व्यक्तित्व तथा समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सोतीपसल क्लस्टरका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मध्यनेपाल नगरपालिका–३ का वडाध्यक्ष केशव न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा मूल समारोहका अध्यक्ष तीर्थलाल श्रेष्ठ, मूल समारोहका सचिव तथा नेपाल सरकारका सहसचिव एवम् इन्जिनियर हरिदत्त पौडेल र मङ्गला माविका प्रधानाध्यापक विष्णुहरि बास्तोला विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी शिक्षक–अभिभावक सङ्घका शम्शेरबहादुर थापा र मङ्गला माविका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण बसौला अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा सोतीपसल क्लस्टरका सदस्य तथा पूर्व शिक्षक तीर्थराज तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सोतीपसल क्लस्टरका सचिव दुवराज सोतीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा मूल समारोहका सचिव हरिदत्त पौडेलले समाजका मुख्य एजेन्डाहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी पूर्व विद्यार्थीहरूले मङ्गला माविमा अध्ययन गरेका सम्पूर्ण पूर्व विद्यार्थीलाई आपसी सहकार्य, एकता र सहयात्राका लागि समाजमा आबद्ध गराउन पहल गर्नुपर्नेमा जोड दिएका थिए । साथै विद्यालयको शैक्षिक, भौतिक तथा समग्र विकास र उन्नयनका लागि समाज सधैँ तत्पर रहनुपर्ने धारणा व्यक्त गरिएको थियो ।
समाजका गतिविधिलाई निरन्तरता दिन, संस्थालाई थप गतिशील बनाउन तथा वैधानिकता प्रदान गर्न छिट्टै समाजको भेला र अधिवेशनको तयारीमा जुट्नुपर्ने सुझावसमेत सहभागीहरूले दिएका थिए । पूर्व विद्यार्थीबिच परिचय, अनुभव आदानप्रदान र आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रमले पुराना सहपाठीलाई पुनः जोड्ने तथा विद्यालयप्रतिको अपनत्व र जिम्मेवारी अभिवृद्धि गर्ने अवसर प्रदान गरेको सहभागीहरूको भनाइ थियो ।
मङ्गला माविका पूर्व विद्यार्थीहरू समाजका महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको ज्ञान, अनुभव, योगदान र सुझाव विद्यालयको वर्तमान विकास तथा भविष्यको मार्गदर्शनका लागि उपयोगी बन्न सक्ने विषयमा पनि छलफल भएको थियो ।
समाजको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै सहभागीहरूले २०६४ साल कार्तिक ३ गते तदर्थ समिति गठन भई सोही दिन तत्कालीन अध्यक्ष तीर्थलाल श्रेष्ठको अध्यक्षतामा समाजको कार्यक्रम सुरु भएको जानकारी गराएका थिए। समाजको सञ्जाल विस्तार गर्ने क्रममा दमौली, पोखरा, काठमाडौं र नारायणगढमा समेत क्लस्टर गठन गरिएको उल्लेख गरिएको थियो ।
कार्यक्रमले मङ्गला माविका पूर्व विद्यार्थीहरूबिच आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउँदै विद्यालयको विकासमा सामूहिक योगदान पुर्याउने अपेक्षा गरिएको छ । साथै आगामी दिनमा समाजलाई व्यवस्थित, सक्रिय र संस्थागत रूपमा अगाडि बढाउन सबै पूर्व विद्यार्थी एकजुट हुनुपर्नेमा जोड दिइएको थियो ।
प्रकाशित मिति कार्तिक ३, २०८३






