नेपाल रेडक्रस सोसाइटी, गण्डकीद्वारा इमर्जेन्सी क्लिनिक र हैजा व्यवस्थापन तालिम सञ्चालन

नेपाल रेडक्रस सोसाइटी, गण्डकीद्वारा इमर्जेन्सी क्लिनिक र हैजा व्यवस्थापन तालिम सञ्चालन

श्रीकृष्ण आचार्य

@facebook

२०८३ असोज २८ गते बुधबार ०७:२०

पोखरा, असोज २८ गते । नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेशको आयोजनामा पोखरामा जलवायु परिवर्तन र त्यसका प्रभावका कारण हैजा प्रकोप फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै रेडक्रस इमर्जेन्सी क्लिनिक तथा हैजा व्यवस्थापनसम्बन्धी तालिम...

पोखरा, असोज २८ गते । नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेशको आयोजनामा पोखरामा जलवायु परिवर्तन र त्यसका प्रभावका कारण हैजा प्रकोप फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै रेडक्रस इमर्जेन्सी क्लिनिक तथा हैजा व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ ।

विपद् तथा स्वास्थ्य आपत्‌कालीन अवस्थामा सञ्चालन गरिने सेवालाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ चार दिनसम्म सञ्चालन हुने आवासीय तालिममा विभिन्न स्वास्थ्य निकायका २८ जना स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलको अध्यक्षतामा सम्पन्न तालिम उद्‌घाटन समारोहमा नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक मोना अर्याल, उपमहासचिव कृष्णचन्द्र पाण्डे तथा कास्की शाखाकी सभापति उर्मिला भण्डारीलगायतको सहभगिता रहेको थियो । कार्यक्रममा आई.एफ.आर.सी. (IFRC), डेनिस रेडक्रस र क्यानेडियन रेडक्रसको विशेष प्राविधिक तथा आर्थिक सहयोग रहेको छ ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय HEOC का प्रमुख डा. हेमन्त ओझा, IFRC का क्षेत्रीय स्वास्थ्य संयोजक डा. अभिषेक रिजाल र क्यानेडियन रेडक्रसका रिजनल हेल्थ एडभाइजर रमेश न्यौपाने लगायतले आपत्‌कालीन स्वास्थ्य क्लिनिकको इतिहास, सञ्चालनका अनुभव तथा विपद्का बेला यस्ता क्लिनिकहरू प्रभावकारी बनाउने रणनीतिबारे प्रकाश पारेका थिए ।

उक्त तालिममा प्रदेश जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश सङ्क्रामक तथा सरुवा रोग अस्पताल, मातृशिशु मितेरी प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा, शुक्लागण्डकी नगरपालिका स्वास्थ्य शाखा तथा नेरेसो कास्कीका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ ।

तालिमले सार्वजनिक स्वास्थ्य, आपत्‌कालीन पूर्वतयारी तथा प्रतिकार्यलाई थप मजबुत बनाउनुका साथै स्वास्थ्य संस्था, समुदाय र स्थानीय तहबिचको समन्वय तथा रोग निगरानी प्रणालीलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति २०८३ असोज २८ गते बुधबार ०७:२०