पोखरा, मङ्सिर ५ गते । साहित्य, कला र सङ्गीतको उत्थान हाम्रो प्रण, भन्ने मूल उदघोषका साथ वि.सं. २०३४ सालमा स्थापित मुलुककै अग्रणी वाङमयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको कविताको अघोषित पाठशालाका रूपमा स्थापित समता काव्य सन्ध्याको ४०० औं समता काव्य सन्ध्या आज एक विशेष काव्य वाचन शृंखलाका रूपमा सम्पन्न भयो ।
गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्यमा संस्थाका सचिव एमडी काफ्लेको कुशल संचालन र साहित्य संयोजक ढाकामोहन बरालको अध्यक्षतामा सम्पन्न उक्त शृंखलामा समता काव्य सन्ध्याका विभिन्न शृंखलाहरूमा आफ्ना सिर्जनाहरू सुनाएर नेपाली काव्य फाँटमा आफ्नो अलग्गै काव्यिक उचाई बनाउन सफल कविहरू डा. ईश्वरमणि अधिकारी, जीवनसागर भण्डारी, दीपक समीप, भूपिन, र सरस्वती श्रेष्ठ ‘सरू’ले आआफ्ना रोज्जा सिर्जनाहरू वाचन गरे । रचना सुनाउने क्रममा अक्सर सबैले समतासितका आफ्ना संस्मरण सुनाउंदै काव्य सन्ध्याले आफ्नो सिर्जनामा पारेको प्रभावमाथि प्रकाश पार्दै आफूलाई समता काव्य सन्ध्याको विद्यार्थीका रूपमा उभ्याउन पाउँदा खुसी लाग्ने धारणा व्यक्त गरे ।
स्वागत तथा कार्यक्रममाथि प्रकाश पार्दै संयोजक बरालले पोखरेली युवा सांस्कृतिक परिवार तथा समता काव्य सन्ध्याले आफना सर्जक भनेर गर्व तथा गौरव गर्ने स्रस्टाहरू मध्ये, नेपाली साहित्यमा आफ्नो अलग काव्यिक पहिचान बनाएका केही प्रतिनिधि कविहरूलाई ४०० औं शृंखलामा प्रस्तुत गरेको बताउँदै, २०५० सालदेखि हरेक महिनाको पहिलो शनिबार नियमित रूपमा काव्य वाचन गर्दै आइरहेको समता काव्य सन्ध्याको नेपाली साहित्यमा अलग्गै महत्ता रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बिम्बकवि रमेश श्रेष्ठले समता काव्य सन्ध्याको ऐतिहासिकता, काव्यको शक्ति र सौन्दर्यको चर्चा गर्दै कविता लेखन आफैमा एक उपासना भएको धारणा राखे । संस्थाका संस्थापक सचिव तथा नेपाली साहित्यका शिखर व्यक्तित्व साहित्यकार सरूभक्तले नेपाली कविताको क्षेत्रमा समता काव्य सन्ध्याले पुर्याएको योगदानको चर्चा गर्दै शृंखलामा आआफ्ना रोज्जा सिर्जना सुनाउने कविहरूलाई काव्यिक सफलताको शुभकामना व्यक्त गर्दै यसै वर्ष संस्था पचासौ वर्षमा प्रवेश गर्ने भएकोले पनि यसका उपलब्धीहरूकोहरूको दस्ताबेजिकरण आवश्यक रहेको धारणा व्यक्त गरे ।
पचासको दशक ताका समता काव्य सन्ध्याका शृंखलाहरूको संस्मरण सुनाउंदै नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव डा रोशन शेरचनले अतिथि कविका रूपमा आफ्ना केही कविता सहित समता काव्य सन्ध्याले नेपाली काव्यमा छाडेको प्रभावका बारेमा प्रकाश पारे । उक्त अवसरमा संस्थाले प्रज्ञाप्रतिष्ठानकको सदस्य सचिव र सदस्यका रूपमा नियुक्त आफ्नै संस्थासित सम्बद्ध सर्जक डा रोशन शेरचन र तीर्थ गुरूंगलाई हार्दिक बधाई तथा सम्मान अर्पण गर्यो ।
गण्डकी प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमलाई पोखरा महानगरपालिका वडा न ६ र वडा न ७ को विशेष सहयोग र साथ प्राप्त भएको थियो । उक्त अवसरमा प्रमुख आमन्त्रित व्यक्तित्व गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपति प्राडा न्यौपानेले आफू पनि पचासको दशकमा उक्त संस्थाकै साहित्य संयोजक रहेको प्रसंग सम्झंदै संस्थासितका आफ्ना रमाइला अनुभतिहरू साट्दै शृंखलाका सर्जकहरूको रचनामा रहेको शक्ति र सौन्दर्यको चर्चा सहित सफलता र निरन्तरताको कामना व्यक्त गरे । साथै, कुनै पनि राष्ट्रको पहिचान त्यहाँको भाषा, साहित्य, कला र संस्कृतिको सम्पन्नता र वैभवमा भर पर्ने भएकोले यसको सम्बर्धनमा सबैले हातेमालो गर्नु पर्ने धारणा व्यक्त गरे ।
प्रकाशित मिति मंसिर ५, २०८३






