इतिहासको अभिलेखीकरणमा एउटा प्रयास : ‘नव युवा विद्रोह’- प्रकाश अधिकारी

इतिहासको अभिलेखीकरणमा एउटा प्रयास : ‘नव युवा विद्रोह’- प्रकाश अधिकारी

प्रकाश अधिकारी

@facebook

कार्तिक २४, २०८३

समग्रमा, ‘नव युवा विद्रोह’ सङ्कलक हरिप्रसाद पौडेलले जेनजी आन्दोलनका सडकका आवाज, विभिन्न राजनीतिक दृष्टिकोण र ऐतिहासिक क्षणका तस्बिर एउटै ग्रन्थमा सुरक्षित राख्न गरेको आँटिलो प्रयास हो । यी सामग्री समयसँगै ओझेल पर्न सक्थे; अब भविष्यका अध्येताले तिनको अध्ययन गर्न पाउँछन् । पुस्तकले घटनाक्रमको विस्तृत परिदृश्य पाठकसामु राखेको छ, जसले सार्वजनिक बहसका लागि सामग्री दिन्छ ।

इतिहासको अभिलेखीकरणमा एउटा प्रयास : ‘नव युवा विद्रोह’

– प्रकाश अधिकारी

विषय प्रवेश

इतिहास लेखिनुअघि घटनाको सत्य, सन्दर्भ र प्रमाण सुरक्षित हुनुपर्छ । कुनै समय सडकमा उठेका आवाज, सत्ताले गरेका निर्णय, नागरिकले व्यक्त गरेका असन्तुष्टि र राज्यका संस्थाले दिएका प्रतिक्रिया भोलिका पुस्ताका लागि अध्ययनको सामग्री बन्न सक्छन् । त्यसैले दस्तावेज सङ्कलनलाई समयप्रतिको बौद्धिक जिम्मेवारी मान्न सकिन्छ ।

वि.सं. २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलन नेपालको समकालीन राजनीतिक इतिहासको एउटा असाधारण घटना हो । सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्ध, भ्रष्टाचार र कुशासनप्रतिको असन्तुष्टि तथा राज्यसँग जवाफदेहिताको माग गर्दै युवापुस्ता सडकमा उत्रियो । पहिलो दिनको प्रदर्शनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरे र मानवीय क्षति भयो । त्यसपछिको दिन आन्दोलन हिंसात्मक र विध्वंसात्मक बन्यो, जसमा सरकारी संरचना, निजी सम्पत्ति र सार्वजनिक संस्थामा व्यापक क्षति पुग्यो । घटनाक्रम तत्कालीन सरकारको पतन र अन्तरिम सरकार गठनसम्म पुग्यो ।

यो आन्दोलन एक दिनको प्रदर्शन र अर्को दिनको विध्वंसमा सीमित थिएन । यसमा युवापुस्ताको असन्तुष्टि, राज्यको शक्ति प्रयोग, राजनीतिक नेतृत्वको असफलता, सामाजिक सञ्जालको प्रभाव, नागरिकको सहभागिता र त्यसपछिका राजनीतिक परिणाम एकअर्कासँग जोडिएका थिए । यही घटनाक्रमसँग सम्बन्धित समाचार, तस्बिर, सामाजिक सञ्जालका अभिव्यक्ति, राजनीतिक दलका विज्ञप्ति र संस्थागत दस्तावेज समेटेर हरिप्रसाद पौडेलले ‘नव युवा विद्रोह’को अनलाइन संस्करण सार्वजनिक गरेका छन् । पुस्तकको मूल उद्देश्य समयका छरिएका सामग्रीलाई एउटै सङ्ग्रहमा राख्नु देखिन्छ । तर घटनाका दस्तावेज सङ्कलन गर्नु र त्यस घटनाको विश्वसनीय इतिहास निर्माण गर्नु एउटै कुरा होइन । यो समीक्षाले पुस्तकलाई त्यही कसीमा हेर्छ ।

प्रस्तुतीकरणका दृष्टिले अनलाइन संस्करणमा समाचार कटिङ, सामाजिक सञ्जालका स्क्रिनसट, विज्ञप्ति र तस्बिरहरूलाई विनावर्गीकरण एकैठाउँमा राखिएको देखिन्छ । दृश्य सामग्रीमा अक्षर स्पष्ट नदेखिनु, मूल स्रोत काटिनु, मिति नखुल्नु वा सामग्रीको सन्दर्भ हराउनुले दस्तावेजको ओज घटाउँछ ।

सङ्कलकको व्यक्तित्व र कृतिको पृष्ठभूमि

बेनी नगरपालिका–६, पिपलबोट, म्याग्दीका हरिप्रसाद पौडेल सामाजिक तथा सार्वजनिक गतिविधिमा सक्रिय छन् । उनी कदम म्याग्दीका अध्यक्ष र पूर्व स्थानीय शान्ति समिति संयोजक हुन् र म्याग्दीका करिब दर्जन संस्थामा संलग्न छन् । यसअघि ‘परिस्थितिका उपजहरू–२०८१’ प्रकाशित गरिसकेका पौडेलले यस कृतिमार्फत समसामयिक राजनीतिक घटनाको दस्तावेजीकरण गरेका छन् । आफूले देखेको समय, भोगेको परिस्थिति र सार्वजनिक बहसमा आएका आवाजलाई सुरक्षित राख्न खोज्नु प्रशंसनीय पहल हो ।

मलाई लाग्छ, सामाजिक सक्रियता र ऐतिहासिक निष्पक्षता फरक क्षमता हुन् । कुनै घटनासँग भावनात्मक वा वैचारिक निकटता हुनु अस्वाभाविक होइन; तर त्यसलाई अभिलेखमा उतार्दा तथ्य र व्यक्तिगत दृष्टिकोणबीच स्पष्ट दूरी कायम गर्नुपर्छ । सङ्कलकको जिम्मेवारी आफूलाई असहज लाग्ने तथ्य र फरक दृष्टिकोणलाई न्यायोचित स्थान दिनु हो । पौडेलको सामाजिक सक्रियता पुस्तकको पृष्ठभूमि हो; पुस्तकको गुणस्तर भने सम्पादकीय सन्तुलनले निर्धारण गर्छ ।

सामग्रीको विविधता : पुस्तकको सबल पक्ष

‘नव युवा विद्रोह’ को सबैभन्दा बलियो पक्ष यसमा समेटिएको सामग्रीगत विविधता हो । उपलब्ध विवरणअनुसार पुस्तकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजनीतिक दलका विज्ञप्ति र धारणा समेटिएका छन् । गगन थापा, विश्वप्रकाश शर्मा, शंकर पोखरेल, पुष्पकमल दाहालका अभिव्यक्तिसँगै रवि लामिछानेको कारागार सन्देशसमेत यसमा अटेका छन् ।

त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घजस्ता संस्थाका प्रतिक्रिया तथा अन्तर्राष्ट्रिय धारणा पनि समावेश छन् । सञ्चारमाध्यमका समाचार कटिङ, प्रदर्शनका तस्बिर र सामाजिक सञ्जालका पोस्टहरूले तत्कालीन सार्वजनिक मनोविज्ञान र राजनीतिक तापक्रम बुझ्न सहयोग पुर्‍याउँछन् ।

विशेषगरी सरकार र जेनजी प्रतिनिधिबीच २०८२ मंसिर २४ गते भएको १० बुँदे सम्झौता पुस्तकमा समावेश हुनु महत्त्वपूर्ण अभिलेखीय पक्ष हो । यो आधिकारिक दस्तावेजमा आन्दोलनलाई जनआन्दोलनका रूपमा स्वीकार गर्ने, सहिद तथा घाइते परिवारका माग सम्बोधन गर्ने, सुशासन, भ्रष्टाचार नियन्त्रण, संवैधानिक सुधार र निर्वाचन प्रणाली परिमार्जनजस्ता बुँदा छन् । भविष्यका अनुसन्धानकर्ताले यी सामग्रीलाई प्रारम्भिक अध्ययनको सन्दर्भका रूपमा प्रयोग गर्न सक्छन् ।

प्रस्तुतीकरण र सम्पादकीय अनुशासन

‘नव युवा विद्रोह’ शीर्षकसँगै ‘संलग्नता, समर्थन र विरोधको चक्रव्यूह’ उपशीर्षक राखिएको १७३ पृष्ठको यो कृति जेनजी आन्दोलनको एक वर्ष पूरा भएको सन्दर्भमा सेप्टेम्बर ८ मा अनलाइन संस्करणका रूपमा सार्वजनिक भएको थियो । २०८३ कार्तिक २२ गते लक्ष्मीपूजाको दिन म्याग्दी पुस्तकालयमा आयोजित कार्यक्रममा म्याग्दीका अग्रज साहित्यकार धुव्रलाल शर्माले यसको लोकार्पण गरे । सन्दीप खत्रीले लेआउट गरेको पुस्तक लालीगुँरास अफसेट प्रेसले मुद्रण गरेको छ । यसको प्रस्तावित प्रिन्ट संस्करणका लागि ३०० प्रति मुद्रण गर्ने र मूल्य रु. ७५० तोक्ने विवरण उल्लेख छ । सीमित मुद्रण र उच्च मूल्यले गर्दा विद्यार्थी, युवा र प्रारम्भिक अनुसन्धानकर्ताको पहुँचमा यो पुस्तक पुग्न चुनौतीपूर्ण हुन सक्छ ।

प्रस्तुतीकरणका दृष्टिले अनलाइन संस्करणमा समाचार कटिङ, सामाजिक सञ्जालका स्क्रिनसट, विज्ञप्ति र तस्बिरहरूलाई विनावर्गीकरण एकैठाउँमा राखिएको देखिन्छ । दृश्य सामग्रीमा अक्षर स्पष्ट नदेखिनु, मूल स्रोत काटिनु, मिति नखुल्नु वा सामग्रीको सन्दर्भ हराउनुले दस्तावेजको ओज घटाउँछ । यस्ता सामग्रीलाई आधिकारिक दस्तावेज, सञ्चारमाध्यमका समाचार, सामाजिक सञ्जालका पोस्ट र व्यक्तिगत टिप्पणी गरी चार अलग समूहमा वर्गीकरण गर्नु आवश्यक छ ।

भाषिक दृष्टिले हेर्दा यस पुस्तकको भाषालाई दुई तहमा छुट्याएर विश्लेषण गर्न सकिन्छ: पहिलो, सङ्कलित सामग्रीको आफ्नै बहुआयामिक भाषा; दोस्रो, सङ्कलक स्वयंले लेखेका भूमिका तथा टिप्पणीहरूको भाषा । सङ्कलित सामग्रीमा तत्कालीन सन्दर्भको मौलिक भाषा सुरक्षित हुनु स्वाभाविक हो । तर सङ्कलक आफैँले लेखेका ‘भूमिका’ (पृष्ठ ५–८), ‘जेनजी भनेको के हो?’ (पृष्ठ ११–१६) र ‘अन्त्यमा मेरो भन्नु’ (पृष्ठ १६५–१७३) जस्ता खण्डमा प्रयोग भएको भाषा अत्यन्त आक्रामक र अमर्यादित देखिन्छ । आलोचना जतिसुकै कडा भए पनि सार्वजनिक महत्त्वको पुस्तकमा भाषाको मर्यादा र तर्कको अनुशासन गुम्नु हुँदैन । यसका अतिरिक्त सामग्रीको कालक्रम नमिल्नु तथा वर्णविन्यास र व्याकरणका त्रुटि रहनुले सम्पादकीय अनुशासनको अभाव देखाउँछ ।

‘खहरे आन्दोलन’ : शब्द चयन र दृष्टिकोण

पुस्तकको प्रारम्भिक पृष्ठहरू (विशेषतः पृष्ठ १७–२०) मा आन्दोलनको चरित्र चित्रण गर्ने क्रममा यसलाई ‘खहरे आन्दोलन’ भनिएको छ । खहरेको बिम्बले क्षणिकता, आवेग र अस्थायित्व सङ्केत गर्छ, त्यसैले सुरुवाती पृष्ठबाटै सङ्कलकको दृष्टिकोण पूर्वाग्रही छ कि भन्ने शङ्का पाठकमा उठ्छ । आन्दोलनको ऐतिहासिक महत्त्व त्यसको समयावधिले मात्र तय हुँदैन; त्यसले उठाएका प्रश्न, राज्यको व्यवहारमा परेको प्रभाव, राजनीतिक संरचनामा आएको परिवर्तन र समाजमा जन्माएको विमर्श पनि मूल्याङ्कनका आधार हुन् ।

आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिको तथ्यपरक आलोचना हुनैपर्छ । तर त्यसैका आधारमा भ्रष्टाचार, कुशासन र जवाफदेहिताबारे उठेका मूल प्रश्नलाई खारेज गर्न मिल्दैन; न त आन्दोलनको नाममा भएका अराजक गतिविधिलाई स्वतः न्यायोचित मान्न सकिन्छ । आन्दोलनले उठाएका राजनीतिक–सामाजिक माग र त्यसक्रममा भएका विध्वंसात्मक क्रियाकलापलाई अलग–अलग राखेर हेर्नुपर्छ । ‘खहरे’ जस्तो एउटा विशेषणमा सीमित नगरी इतिहासले यी अन्तर्विरोधलाई पनि ठाउँ दिनुपर्छ ।

तथ्याङ्कको सन्दर्भ र प्रमाणको दूरी

कुनै पनि ऐतिहासिक घटनाको दस्तावेजीकरणमा तथ्याङ्क अत्यन्त संवेदनशील पक्ष हो । पुस्तकको मध्यखण्ड (पृष्ठ १३८–१४४) मा आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिका आँकडाहरू प्रस्तुत गरिएका छन् । तर, दुई दिनको प्रदर्शनमा देशभर १३ हजार १८२ पटक फायरिङ भएको र २ हजार ६४२ राउन्ड वास्तविक गोली प्रयोग भएको विवरण प्रहरीको प्रारम्भिक अभिलेखमा आधारित समाचार कटिङ मात्र हो । यसलाई अन्तिम न्यायिक निष्कर्षका रूपमा लिन सकिँदैन । सरकारी क्षति मूल्याङ्कन समिति र कारागार विभागका अद्यावधिक विवरणहरू पनि फरक समयका छन् । प्रारम्भिक अनुमान, अद्यावधिक प्रतिवेदन र अन्तिम निष्कर्षलाई स्रोत र मिति नखुलाई एउटै तहमा राख्दा पाठकमा भ्रम उत्पन्न हुन्छ ।

त्यसैगरी पुस्तकका विवादास्पद पृष्ठहरूमा बारबरा फाउन्डेसनसँग जोडिएको आर्थिक सहयोगको दाबी (पृष्ठ १०३–१०६), काठमाडौंका मेयर बालेन शाहको भूमिकामाथि गरिएका टिप्पणी (पृष्ठ ११२–११६) र नख्खु कारागारबाट प्राप्त भनिएको विवादित पत्र (पृष्ठ १२४–१२६) जस्ता संवेदनशील सामग्री समावेश छन् । यस्ता विषयमा सम्बन्धित पक्षको खण्डन वा स्वतन्त्र पुष्टिबिना एकपक्षीय आरोपलाई प्रमाणित तथ्यझैँ प्रस्तुत गरिनु कृतिको गम्भीर कमजोरी हो ।

यस्तै कमजोरी पुस्तकको अन्तिम खण्ड ‘अन्त्यमा मेरो भन्नु’ (पृष्ठ १६५–१७३) मा अझ प्रस्ट देखिन्छ । यस खण्डमा २०८२ फागुन २१ को प्रतिनिधिसभा निर्वाचन, नयाँ राजनीतिक दलको उदय र जनमतलाई ‘डिजिटल ब्ल्याकमेलिङ’, ‘अदृश्य सेटिङ’ र ‘विदेशी शक्तिको ग्रान्ड डिजाइन’ जस्ता अमूर्त षड्यन्त्रसँग जोडिएको छ । कुनै पनि वस्तुनिष्ठ प्रमाणबिना मतदाताको सार्वभौम निर्णयलाई बाह्य शक्तिको डिजाइन भन्नु कता कता लोकतान्त्रिक चेतविपरीत हुन जान्छ जस्तो नि लाग्छ । यसलाई सङ्कलकको व्यक्तिगत विचारका रूपमा बुझ्न सकिए पनि ऐतिहासिक निष्कर्ष मान्न सकिँदैन ।

आगामी प्रिन्ट संस्करणका लागि सुधारका आधार

अनलाइन संस्करणमा रहेको यो कृति प्रिन्ट संस्करणमा जाँदा सम्पादकीय र संरचनात्मक रूपमा परिमार्जन हुनुपर्छ । सबैभन्दा पहिले आधिकारिक सरकारी अभिलेख, सञ्चारमाध्यमका समाचार, सामाजिक सञ्जालका अभिव्यक्ति र व्यक्तिगत व्याख्यालाई छुट्टाछुट्टै अध्यायमा राख्नुपर्छ । प्रत्येक दस्तावेजसँग त्यसको मूल स्रोत, आधिकारिक प्रकाशन मिति, डिजिटल लिङ्क र आर्काइभ पहिचान स्पष्ट रूपमा खुलाउनु आवश्यक छ । पृष्ठ १०३ देखि १२६ सम्म समेटिएका विवादित दाबी वा आरोपसँगै सम्बन्धित पक्षको खण्डन र स्पष्टीकरण पनि राखेर सन्तुलन मिलाउनुपर्छ ।

घटनाक्रमलाई तिथिमितिअनुसार कालक्रममा मिलाउनुपर्छ, र पुस्तकको अन्त्यमा व्यक्ति, संस्था, विषय र मितिअनुसार खोज्न सकिने विस्तृत अनुक्रमणिका, स्रोत सूची र विषयसूची राख्नुपर्छ । धमिलो अनलाइन दृश्य सामग्रीको सट्टा प्रिन्ट संस्करणमा उच्च गुणस्तरको स्क्यान, स्पष्ट पृष्ठ विन्यास र पठनीय फन्ट प्रयोग गर्नुपर्छ । सङ्कलकको व्यक्तिगत राजनीतिक दृष्टिकोण र मूल दस्तावेजबीच स्पष्ट रेखा कोर्दै भाषाको कटुता र आक्रामकता सम्पादकीय संयमले घटाउनुपर्छ । साथै पुस्तकको मूल्य तोक्दा विद्यार्थी र आम अनुसन्धानकर्ताको क्रयशक्तिलाई पनि ध्यान दिनुपर्छ ।

जाँदाजाँदै…

समग्रमा, ‘नव युवा विद्रोह’ सङ्कलक हरिप्रसाद पौडेलले जेनजी आन्दोलनका सडकका आवाज, विभिन्न राजनीतिक दृष्टिकोण र ऐतिहासिक क्षणका तस्बिर एउटै ग्रन्थमा सुरक्षित राख्न गरेको आँटिलो प्रयास हो । यी सामग्री समयसँगै ओझेल पर्न सक्थे; अब भविष्यका अध्येताले तिनको अध्ययन गर्न पाउँछन् । पुस्तकले घटनाक्रमको विस्तृत परिदृश्य पाठकसामु राखेको छ, जसले सार्वजनिक बहसका लागि सामग्री दिन्छ ।

अनलाइन संस्करणका रूपमा सार्वजनिक यो कृति आफैँमा पूर्ण इतिहास होइन, तर प्रामाणिक इतिहास लेख्नका लागि उपयोगी प्रस्थानविन्दु हो । सङ्कलकले प्रिन्ट संस्करणमा सम्पादकीय सन्तुलन, स्रोतको थप आधिकारिकता, सामग्रीको वर्गीकरण र भाषाको मर्यादा मिलाएमा ‘नव युवा विद्रोह’ नेपालको राजनीतिक–सामाजिक रूपान्तरण, पुस्तागत चेतना र लोकतान्त्रिक आन्दोलनको अध्ययनका लागि भरपर्दो सन्दर्भ ग्रन्थ बन्छ ।

पुस्तकको परिचय र सङ्क्षिप्त विवरण

पुस्तकको नाम: नव युवा विद्रोह (दस्तावेजहरूको सँगालो)

संकलक/लेखक: हरिप्रसाद पौडेल (म्याग्दी)

संस्करण: अनलाइन संस्करण,२०८३ भाद्र

मूल्य : रु. ७५०/-

(समीक्षक अधिकारी युवाकवि तथा पत्रकार हुन् ।)

प्रकाशित मिति कार्तिक २४, २०८३