शुक्लागण्डकीको समृद्धिका लागि विद्यार्थीले दिए सुझाव

शुक्लागण्डकीको समृद्धिका लागि विद्यार्थीले दिए सुझाव

Education News

@edunewsnp

मंसिर ११, २०८३

शुक्लागण्डकीको भूमि उर्वर रहेको भन्दै विद्यार्थीहरूले कृषि क्षेत्रको विकाससँगै पर्यटकीय सहर पोखरा आउने पर्यटकलाई कम्तीमा २-३ दिन शुक्लागण्डकीमा अड्याउन सकिने विकल्पहरू प्रस्तुत गरेका थिए ।

वक्तृत्वकलामा लिटिल गार्डेनकी एकता प्रथम

पोखरा, मङ्सिर ११ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले शुक्लागण्डकीको समृद्धिका लागि सुझाव दिएका छन् ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले शुक्रवार दुलेगौँडामा आयोजना गरेको वक्‍तृत्वकला प्रतियोगितामा बोल्ने विद्यार्थीहरूले शुक्लागण्डकीको समृद्धिका लागि कृषि, पर्यटन र उद्योग व्यवसाय विस्तार गर्नुपर्ने विचार राखे । उनीहरूले ढोरबाराही, भुजीकोटलगायतका स्थानहरूलाई पर्यटकीय दृष्टिबाट थप विकास गर्नुपर्ने भन्दै कृषि क्षेत्रलाई वैज्ञानिक बनाउँदै आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका थिए । शुक्लागण्डकीको भूमि उर्वर रहेको भन्दै विद्यार्थीहरूले कृषि क्षेत्रको विकाससँगै पर्यटकीय सहर पोखरा आउने पर्यटकलाई कम्तीमा २-३ दिन शुक्लागण्डकीमा अड्याउन सकिने विकल्पहरू प्रस्तुत गरेका थिए ।

‘समृद्ध शुक्लागण्डकीको आधार : कृषि, पर्यटन र उद्योग व्यवसायको विस्तार’ शीर्षकमा भएको प्रतियोगितामा २३ जनाको सहभागिता रहेको थियो । सो प्रतियोगितामा लिटिल गार्डेन बोर्डिङ स्कुलकी एकता गौतम प्रथम भएर दश हजार रुपियाँ नगद जितेकी थिइन् । त्यसै गरी कञ्चनजङ्घा सेकेन्डरी बोर्डिङ स्कुलकी स्मृति चौधरी द्वितीय हुँदै सात हजार रुपियाँ, सरस्वती माध्यमिक विद्यालयकी रजिया मिया तृतीय भएर पाँच हजार रुपियाँ र  ज्ञानबगैँचा बोर्डिङ स्कुलकी दीप्सा पौडेलले तीन हजार रुपियाँसहित सान्त्वना पुरस्कार हात पारिन् ।

प्रतियोगिताका निर्णायकहरूमा साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावी, कार्यमूलक नेपाली व्याकरण, बोध तथा अभिव्यक्ति (कक्षा १-१२) का लेखक सुरज लम्साल र स्थानीय हरिबहादुर थापा रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य छत्रधर आत्रेयले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए । विद्यार्थीहरूले वक्‍तृतामार्फत दिएका सुझाव स्थानीय सरकारका प्रतिनिधिहरूले मनन गर्नुपर्नेमा आत्रेयले जोड दिए । विद्यार्थीहरूको विचार वर्तमान पुस्ताको प्रतिनिधि विचार प्रस्तुत गर्नुका साथै विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि वाणिज्य सङ्घले गरेको कार्यक्रमको उनले प्रशंसा गरे ।

कार्यक्रमका अध्यक्ष तथा सङ्घका अध्यक्ष समुद्रराम श्रेष्ठले शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले व्यवसायका अलावा विद्यार्थीको आवाज सुन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । सो अवसरमा सङ्घका संस्थापक अध्यक्ष वसन्त ज्वारचन र नेपाल शिक्षक महासङ्घ, शुक्लागण्डकी नगरपालिकाका प्रशासकीय प्रमुख तुलबहादुर विक, शुक्लागण्डकीका अध्यक्ष विमल सिग्देलले शुभकामना दिएका थिए । उपमहासचिव बिर्सना श्रेष्ठको स्वागतमा भएको कार्यक्रमको सञ्चालन महासचिव सुजन श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति मंसिर ११, २०८३