पोखरामा फागुन १५ देखि लिटरेचर फेस्टिभल

पोखरामा फागुन १५ देखि लिटरेचर फेस्टिभल

Education News

@edunewsnp

२०८१ फाल्गुण ९ गते शुक्रबार ०१:३२

 पोखरा, फागुन ९ गते । नेपाल लिटरेचर फेस्टिभलको बाह्रौँ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अघिल्ला संस्करण जस्तै यस वर्ष पनि फेवाताल किनारको...

 

पोखरा, फागुन ९ गते । नेपाल
लिटरेचर फेस्टिभलको बाह्रौँ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ
। आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अघिल्ला
संस्करण जस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव हुने जानकारी
दिएको हो । ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको यो संस्करणको मुख्य
प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो । 

सेसन कक्ष र स्टल
तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले
जानकारी दिए । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र
, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र
अन्य रचनात्मक कार्यक्रम समावेश गरिएका छन् । देश/विदेशका दुई सयभन्दा बढी
साहित्यकार
,
राजनीतिज्ञ, लेखक, कलाकार,
सम्पादक, पत्रकारलगायतको उपस्थिति
रहने छ । फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक
, राजनीतिक,
आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुने छ ।

यसपटक प्राध्यापक
तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत् प्रवचनसँगै फेस्टिभल सुरू हुने
कार्यकारी निर्देशक निरज भारीले जानकारी दिए । उनी इन्दिरा गान्धी ओपेन
यूनिभर्सिटी (आईजीएओयू)को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका
संस्थापक उपकुलपतिसमेत हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको
सबैभन्दा कान्छा उपकुलपतिसमेत बनेका थिए ।

विद्वत्
प्रवचनलगत्तै अध्यात्म र संघर्षमाथि अभिनेत्री मनीषा कोइराला र पत्रकार विजय
कुमारको विशेष संवाद हुनेछ । यसैगरी महानायक राजेश हमालको पुस्तक ‘युगदेखि
युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो ।
हमालको पुस्तक प्रकाशोन्मुख छ ।

फेस्टिभलमा उद्यमी
एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण
हुने आयोजकले जनाएको छ । नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या
साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ
, समाजसेवालाई
आफ्नो कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मको प्रेरणादायी संवाद
फेस्टिभलमा रहनेछन् । म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको
सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो हुन् ।

नेपाली अमेरिकी
लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ ।  उनको छोटो कथा संग्रह
, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ । उनका कथा र
लेखहरू स्टोरी क्वार्टरली
, द न्यू योर्क टाइम्स, हफी पोस्ट,
द साल्ट लेक ट्रिब्यून, लगायतमा प्रकाशित छन् । उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन् ।

फेस्टिभलको यो
संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ । अग्रज वामपन्थी नेता
एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड
जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड
, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका
निर्देशक अजित बरालले जानकारी दिए । ८९ वर्षीय सिंहको एक हजार ३२० पृष्ठको उपन्यास
नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ ।

परम्परागत धुनदेखि
पपसम्म वा यी दुवै विधाका सङ्गीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई संगीतमय
बनाउनेछ । सांगीतिक कार्यक्रमहरूमा प्रोजेक्ट सारङ्गीअन्तर्गत किरण नेपालीको
नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ । त्यस्तै नेपाली संगीतका पप–सम्राटका रूपमा
परिचित ओमविक्रम विष्टले पनि फेस्टिभललाई गुञ्जायमान बनाउनेछन् ।

परम्परागत धुन र
लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने साङ्गीतिक समूह ‘सोनागी ब्लुज’ले
पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागका विद्यार्थीहरूको
सामूहिक परियोजनाका रूपमा सुरु भएको यस ब्यान्डको संगीतमा नेपाली लोक
, रक र भारतीय शास्त्रीय सङ्गीतको समिश्रण सुन्न सकिन्छ ।

सिर्जनाको अर्को
विधा चित्रकलालाई यस वर्ष पनि प्राथमिकता दिइएको कार्यकारी निर्देशक भारीले सुनाए
। यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका
चित्र प्रदर्शनीमा राखिने उनले जानकारी दिए ।

विश्वप्रसिद्ध
भारतीय लेखक शशि थरूरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण
लोकार्पणसँगै फेस्टिभलको समापन हुने छ । भारतीय राजनीति
, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक तथा चर्चित लेखक थरूरका कैयौं
पुस्तकले विश्वव्यापी चर्चा पाएका छन् ।

शुक्रबार पोखरामा
आयोजित पत्रकार सम्मेलनमा बोल्दै फेस्टिभलका निर्देशक अजित बरालले सन् २०११ देखि
नेपाल लिटरेचर फेस्टिभलको आयोजनापछि नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक
महोत्सव हुन थालेको र यो निकै खुसीको कुरा भएको बताए । ‘सुर्खेत
, काठमाडौँ,
पोखरा, धादिङ, काँकडभिट्टा, विराटनगर र टीकापुरमा साहित्य र
विचारका महोत्सव गरिँदै छन्
,’ उनले भने, ‘यस्ता फेस्टिभलले ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएका छन् । यसको श्रेय नेपाल
लिटरेचर फेस्टिभललाई जान्छ ।’

एनसेलकी इन्टेरिम
मार्केटिङ
,
कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी
खड्काले सञ्चारको क्षेत्रबाट मात्र नभई कला र साहित्यबाट पनि आफूहरू समाजसँग
जोडिएको बताइन् । कला–संस्कृति र साहित्य समाजको धरोहर भएको र एनसेल
फाउन्डेसनमार्फत फेस्टिभलसँग १० वर्षपछि फेरि आबद्ध हुन पाएकोमा उनले खुसी व्यक्त
गरिन् । ‘कला
,
साहित्य र संस्कृति हाम्रा धरोहर हुन् । यिनको जगेर्ना
गर्नु सबैको जिम्मेवारी हो । नेपाल लिटरेचर फेस्टिभलका सुरुका वर्षहरुमा हाम्रो
सहयात्रा एकदमै राम्रो रह्यो । एक दशकपछि पुनः सहकार्य गर्न पाएकोमा हामी अत्यन्तै
हर्षित छौं ।’ एनसेल फाउन्डेसनले सञ्चार
, प्रविधि, शिक्षा,
स्वास्थ्य, वातावरण, कला,
संस्कृतिलगायत क्षेत्रमा २ अर्ब रूपैयाँभन्दा बढी लगानी
गरेको उनले जानकारी दिइन् ।  

फेस्टिभल आयोजक
सदस्य एवम् पत्रकार केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको
महत्वबारे चर्चा गरे । साहित्यले समाजमा पु
र्‍याएका योगदानहरूका उदाहरण दिँदै उनले भने, ‘साहित्यले सामाजिक न्यायको क्षेत्रमा, मूल्य र मान्यता भत्काउने र निर्माण गर्ने काममा सघन भूमिका खेलेको हुन्छ ।
सँगै यसले अल्पसङ्ख्यक
, पिछडिएका वर्गलगायतको भाषा, बोली,
पिँधको आवाज र रोदनलाई मूलधारको मुद्दा बनाउने काम पनि गर्छ
। नेपाली समाज पनि अझ बढी सहिष्णु
, सहानुभूतिपूर्ण, स्वतन्त्रतावादी र सभ्य बनोस् भन्ने हाम्रो चाहना छ । त्यही कार्यलाई टेवा पुर्‍याउन नै नेपाल लिटरेचर फेस्टिभल आयोजना गरिएको हो ।’

फेस्टिभल आयोजक
सदस्य एवं पत्रकार भरत कोइरालाले इभेन्टहरूको सहर पोखरामा बर्सेनि हुँदै आएको
लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पु
र्‍याएको विश्वास व्यक्त गरे ।

फेस्टिभलको आयोजक
३६ लाख ७३ हजार रूपियाँ घाटामा रहेको कार्यकारी निर्देशक निरज भारीले पत्रकार
सम्मेलनमा जानकारी गराए । एघारौँ संस्करणमा एक करोड १० लाख ९२ लाख रूपियाँ आम्दानी
र एक करोड १४ लाख ७६ हजार रूपियाँ खर्च भएको उनले सुनाए । गत संस्करणमा मात्र ३
लाख ८३ हजार ३ सय ६० रूपियाँ घाटा भएको थियो । ‘दसौँ संस्करणमा हामीसँग टाइटल
स्पोन्सर थिएन । त्यसैले त्यो संस्करणको घाटा अहिलेसम्म व्यहोर्नुपरेको छ
,’ भारीले भने,
पोखराका साहित्यप्रेमी र देशका अग्रज र समकालीन लेखकहरूको
साथले हामीलाई यो फेस्टिभल निरन्तर गर्न झकझकाएको छ । नाफा घाटाभन्दा पनि
फेस्टिभलले साहित्य र कला क्षेत्रलाई के दियो भन्ने प्रमुख विषय हो ।’

फेस्टिभलको उद्‌घाटन
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने छन् । फेस्टिभललाई
बुद्ध एयरले संवर्धन गरेको छ । पोखरा महानगरपालिका प्रवर्धक रहेको फेस्टिभलमा
गण्डकी प्रदेश सरकार सहप्रवर्धक छ । त्यस्तै उप–प्रवर्धकका रूपमा नेपाल पर्यटन
बोर्ड
,
कृषि विकास बैङ्क, ग्लोबल
आइएमई बैङ्क र प्रभु बैङ्कले आयोजकलाई साथ दिएका छन् ।

 

प्रकाशित मिति २०८१ फाल्गुण ९ गते शुक्रबार ०१:३२