नवप्रभात माविमा वादविवाद, विन्ध्यवासिनीकी आचार्य प्रथम

नवप्रभात माविमा वादविवाद, विन्ध्यवासिनीकी आचार्य प्रथम

education news

@edunewsnp

२०८३ असोज १ गते बिहिबार १०:५०

‘तटीय क्षेत्रमा सहरीकरण : विकास कि चुनौती’ शीर्षकमा भएको वादविवादमा सामुदायिक विद्यालय क्लस्टरमा आबद्ध १२ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा विन्ध्यवासिनी माध्यमिक विद्यालयकी सुस्मिता आचार्य प्रथम, कालिका माविकी सिवानी क्षत्री द्वितीय, इन्द्रराज्य माविका सगुन पौडेल तृतीय र बालमन्दिर माविकी विपना भट्टराई सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

विद्यार्थीले गरे तटीय क्षेत्रमा सहरीकरणका विकास र चुनौतीबारे बहस

पोखरा, असोज १ गते । पोखरा-९, नयाँबजारमा रहेको नवप्रभात माविमा माध्यमिक तहस्तरीय वादविवाद प्रतियोगिता बिहिवार सम्पन्न भएको छ ।

‘तटीय क्षेत्रमा सहरीकरण : विकास कि चुनौती’ शीर्षकमा भएको वादविवादमा सामुदायिक विद्यालय क्लस्टरमा आबद्ध १२ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा विन्ध्यवासिनी माध्यमिक विद्यालयकी सुस्मिता आचार्य प्रथम, कालिका माविकी सिवानी क्षत्री द्वितीय, इन्द्रराज्य माविका सगुन पौडेल तृतीय र बालमन्दिर माविकी विपना भट्टराई सान्त्वना स्थान प्राप्त गर्न सफल भए । विजेताहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठ, शिक्षक अभिभावक सङ्घकी अध्यक्ष सीमा परियार, विद्यालयकी प्रधानाध्यापक मायाकुमारी थापा, सहायक प्रधानाध्यापक ढाकामोहन बराल, शिक्षक प्रतिनिधि मित्रलाल पौडेल तथा विव्यस सदस्यद्वय उत्तम जोशी र जानुका थामीलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक मायाकुमारी थापाले पोखराका १५ ओटा विद्यालयको साझा संस्थाका रूपमा स्थापित सामुदायिक विद्यालय क्लस्टरको वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन् । विद्यालयहरूका बिचमा असल अभ्यासको आदानप्रदानसँगै विभिन्न गतिविधिमा सहकार्य गर्दा विद्यालय र विद्यार्थीको हित भएको अनुभव सुनाउँदै थापाले विद्यार्थीमा निहित प्रतिभा प्रस्फुटनका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइन् ।

प्रतियोगिताका निर्णायक तथा कार्यमूलक नेपाली व्याकरणका लेखक बाबुराम सुवेदीले बोली र तर्कले आफ्ना विचारको जित गराउने कुरामा यस्ता प्रतियोगिताले सहयोग गर्ने धारणा राखे । उनले प्रस्तुतिमा आफ्नोपन दिन विद्यार्थीहरूलाई सुझाव दिए । सुवेदीसँगै अर्का निर्णायकका रूपमा रुपिन्द्र प्रभावी रहेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक पदम बास्तोलाले गरेका थिए ।

 

प्रकाशित मिति २०८३ असोज १ गते बिहिबार १०:५०