विद्यार्थीले कवितामा सुनाए विपद्का पीडा
पोखरा, असोज ९ गते । जलवायु परिवर्तनका कारण उत्पन्न समस्याको फेहरिस्त विद्यार्थीहरूले कवितामार्फत् सुनाएका छन् ।
शुक्रवार पोखरामा आयोजित कार्यक्रममा कास्कीका विभिन्न विद्यालयका विद्यार्थीले कवितामार्फत भोटेकोसी बाढी, हालै भएको अविरल वर्षालगायत जलवायु परिवर्तनका कारण मानिसले भोग्नुपरेका पीडाको कथा कवितामार्फत सुनाएका हुन् । उनीहरूले विपत्का बेला नेपाल रेडक्रस सोसाइटीले मानवताका पक्षमा खेलेको भूमिकाको प्रशंसा गर्दै रेडक्रसले ‘दुःखमा साथ दिने हामी छौँ’ भन्ने भावना विकास गरेको विचार राखे ।
नेपाल रेडक्रस सोसाइटी, कास्कीअन्तर्गत जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल, अमरसिंह माविको व्यवस्थापनमा भएको प्रतियोगितामा पोखरा–१९, काउरेस्थित विन्ध्येश्वरी माविकी स्वस्तिका खड्काको ‘विपद्मा जुनियर रेडक्रसको हातः मानवताको साथ’ शीर्षकको कविता प्रथम भएर नगद ७ हजार रुपियाँ र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगितामा सिर्जना माविकी सपना शर्मा र ग्लोबल कलिजियट स्कुलकी जोसिला अधिकारी क्रमशः द्वितीय भएर ५ हजार रुपियाँ र तृतीय भएर ३ हजार रुपियाँ प्राप्त गरेका थिए भने छोरेपाटन माविकी आकृति सुनार र त्रिभुवन शान्ति माविकी श्रेया पौडेल सान्त्वना भएर २/२ हजार रुपियाँ प्राप्त गरेका थिए । प्रतियोगिताका निर्णायकहरूमा साहित्यकार रुपिन्द्र प्रभावी, कार्यमूलक नेपाली व्याकरणका लेखक बाबुराम सुवेदी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपमन्त्री तथा जुनियर युवा समिति संयोजक डिल्लीराम बराल रहेका थिए ।
नेपाल जुनियर रेडक्रस सर्कल, अमरसिंह माविकी अध्यक्ष भाषिका सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, कास्कीकी सभापति उर्मिला भण्डारीले रेडक्रसले विपत्मा साथ दिने मात्र होइन, विद्यार्थीहरूलाई त्यसप्रति प्रेरणा दिने काम गर्दै आएको बताइन् । “मानवताका पक्षमा एक हौँ” भन्ने रेडक्रसको आदर्श वाक्यलाई आत्मसात् गर्दै विपद् न्यूनीकरण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा मानवीय सेवामा जुनियर युवा रेडक्रसको महत्त्वपूर्ण भूमिका रहेको भण्डारीले बताइन् । उनले सामाजिक तथा मानवीय सेवाका साथै विपद्का समयमा जनचेतनामूलक गतिविधि सञ्चालन, राहत सङ्कलन तथा उद्धार कार्यमा समेत जुनियर रेडक्रसले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै अमरसिंह माध्यमिक विद्यालयले जुनियर रेडक्रसका क्षेत्रमा गर्दै आएका गतिविधिको प्रशंसा गरिन् ।
कार्यक्रममा पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारी सामाजिक सेवा, रक्तदान, विपद् व्यवस्थापन, प्राथमिक उपचार तथा जनचेतनामूलक कार्यक्रममार्फत जुनियर युवा रेडक्रसलाई सङ्गठित र परिचालित गर्नुपर्नेमा जोड दिए । उनले यस्ता गतिविधिले अनुशासित र स्वयम्सेवी भावना भएका युवाको उत्पादन गर्दै सभ्य तथा जिम्मेवार समाज निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा कास्कीका उपमन्त्री तथा जुनियर युवा समितिका संयोजक डिल्लीराम बरालले कविता प्रतियोगिताले युवामा समाजसेवाप्रतिको सकारात्मक सोचको विकास गर्नुका साथै सङ्कटाभिमुख समुदायको संरक्षण, मानवीय सेवासम्बन्धी चेतना अभिवृद्धि, युवाको सहभागिता र सशक्तीकरण तथा विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटनमा योगदान पुर्याउने बताए । उनले जिल्ला सभाबाट पारित यस वर्षका १६ वटा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जुनियर युवा रेडक्रसलाई रेडक्रसको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्ने र स्वयम्सेवक उत्पादनमा विशेष जोड दिइने बताए ।
कार्यक्रममा रेडक्रस कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा, मन्त्री सन्तोष अधिकारी, उपमन्त्री डिल्लीराम बराल, अमरसिंह माविका प्रधानाध्यापक बलराम पोखरेल, सहायक प्रधानाध्यापक सुदिप आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश विकलगायतले बोलेका थिए । कार्यक्रमको संयोजन शिक्षक नायक सम्झना कट्टेलले गरेकी थिइन् भने विद्यार्थी प्रत्युषराज देवकोटाले रेडक्रसका सात सिद्धान्त वाचन गरेका थिए ।
सो अवसरमा जुनियर रेडक्रस सर्कल अन्नपूर्ण माध्यमिक विद्यालयबाट भोटेकोसी बाढी प्रभावितहरूका लागि सङ्कलित रकम रु. ७ हजार २ दुई सय चालिस तथा नेपाल जुनियर रेडक्रस सर्कल अमरसिंह माध्यमिक विद्यालयबाट सङ्कलित रु १० हजार १ सय ५५ रुपियाँसमेत विपद् प्रभावितहरूका लागि हस्तान्तरण गरिएको छ ।
प्रकाशित मिति २०८३ असोज ९ गते शुक्रबार १२:४५





