भ्रम
-हर्क बोहरा
समय फेरिँदा प्रेमका बाटाहरू पनि फेरिँदा रहेछन् । प्रतीक्षाका तरिका फेरिँदा रहेछन् । प्रेमपत्रका अक्षरहरू फेरिँदा रहेछन् ।
कुनै समय थियो, प्रेम गर्न कसैको घरअगाडि घन्टौँ उभिएर कुर्नुपर्थ्यो । महिनौँसम्म एउटा चिठीको प्रतीक्षा गर्नुपर्थ्यो । हुलाकीले पत्र बोकेर घर घर पुर्याइदिन्थे । पत्र पढ्दा महिनौँसम्म मन उज्यालो भइरहन्थ्यो । त्यति बेला प्रेममा भौतिक दूरी थियो तर आत्मीयता थियो । प्रतीक्षामा पीडा थियो तर पीडाभित्र मिठो आनन्द पनि थियो । भेट दुर्लभ थियो त्यसैले भेटको मूल्य गहिरो थियो । नदेखिएको अनुहारलाई कल्पनाले सजाउँथ्यो र नपुगेका शब्दलाई मनले पूरा गरिदिन्थ्यो ।
आज दूरी हराएको छ । औँलाको एउटा स्पर्शमा संसारको जुनसुकै कुनामा रहेको मानिस आँखाअगाडि आइपुग्छ । प्रेमपत्रको ठाउँमा मेसेन्जर छ । प्रतीक्षाको ठाउँमा हरियो बत्ती छ । भेटको ठाउँमा भिडियो कल छ । प्रेमको पहिलो सङ्केत पनि अब कहिलेकाहीँ एउटा लाइक, एउटा हृदयको चिह्न वा दुई शब्दको कमेन्ट बनेर आउँछ ।
एउटा गम्भीर प्रश्न छ, प्रविधिले दूरी घटायो तर के मानिसलाई मानिससँग साँच्चिकै नजिक ल्यायो ? यही प्रश्नको छायामा अनु र आरवको कथा सुरु हुन्छ ।
अनु टिकटकमा भिडियो बनाउँथी । न ऊ कुनै ठुली कलाकार थिई, न प्रसिद्धिको भोक नै थियो । कहिलेकाहीँ आफ्नै एक्लोपनबाट केही क्षण उम्किन, मनलाई अल्मल्याउन र कसैले आफूलाई हेरिरहेको छ भन्ने एउटा सानो अनुभूति पाउन ऊ मोबाइलको क्यामेरा खोल्थी ।
कहिले मुस्कुराउँथी ।
कहिले कपाल मिलाउँथी ।
कहिले ऐनाअगाडि उभिएर सिँगारपटार गर्थी ।
कहिले कुनै गीतको धुनसँग ओठ मिलाउँथी ।
कहिले क्यामेराको लेन्समा आँखाहरू अड्याएर केही क्षण चुपचाप हेरिरहन्थी ।
उसका भिडियोहरूमा प्रायः एउटा मिठो मुस्कान हुन्थ्यो तर मुस्कानभित्रको मन कसैले देख्दैनथ्यो ।
एक दिन आरवले उसको एउटा भिडियो देख्यो ।
केही क्षण उसको औँला स्क्रिनमै रोकियो । उसले भिडियो फेरि हेर्यो । अनुको मुस्कान उसलाई मन पर्यो ।
ऊ सम्बन्धविच्छेद भइसकेको पुरुष थियो । उसका छोराछोरी थिए । एउटा परिवार थियो, एउटा विगत थियो र त्यसभित्र थुप्रै यस्ता सत्यहरू थिए, जसलाई उसले अनुका आँखाबाट टाढा राखेको थियो ।
उसले लेख्यो,
‘तिम्रो मुस्कान निकै सुन्दर छ ।’
अनुले कमेन्टमा लाइक गरिन् ।
एउटा हृदयको चिह्न आयो ।
त्यसपछि अर्को ।
दुई अपरिचित मानिसबिच संवादको पहिलो ढोका खुल्यो ।
पहिले ‘हेलो’ भयो ।
पछि ‘हाइ’ भयो ।
त्यसपछि परिचय ।
परिचयपछि रुचि ।
रुचिपछि संवाद ।
… र संवादपछि प्रेम ।
प्रेम साँच्चै यति छिटो आउँछ ?
सायद आउँदैन ।
… तर आजको समयले प्रेम आएको अनुभूति गराउन धेरै समय लगाउँदैन ।
आरव बिहान उठ्नेबित्तिकै मोबाइल हेर्थ्यो । स्क्रिनमा सबैभन्दा पहिले अनु खोज्थ्यो ।
‘गुड मर्निङ ।’
अनुको सानो रिप्लाई आएपछि उसको बिहान सुरु हुन्थ्यो ।
राति संसार निदाइसकेपछि उनीहरूको संसार जाग्थ्यो ।
‘तिमी निदायौ ?’
‘नाइँ ।’
‘किन ?’
‘तिमीसँग कुरा गर्न मन लाग्यो ।’
यति सानो वाक्यले पनि कहिलेकाहीँ मानिसलाई संसारकै सबैभन्दा प्रिय व्यक्ति भएको अनुभूति गराउँछ ।
रातको एक बज्थ्यो ।
दुई बज्थ्यो ।
रात बिस्तारै बिहानतिर घिस्रिन्थ्यो तर मोबाइलको उज्यालोमा दुई अपरिचित मानिस आफ्ना जीवनका अँध्यारा कोठाहरू एकअर्कासामु खोलिरहेका हुन्थे ।
प्रवासी आमाबुबाको छोरी अनुले आफ्ना दुःख सुनाउँथी ।
आरवले आफ्ना सपना सुनाउँथ्यो ।
उनीहरूले बाल्यकाल बाँडे ।
अतीत बाँडे ।
भविष्यका कल्पना बाँडे ।
कहिलेकाहीँ त उनीहरूले नदेखेको भविष्यसमेत सँगै जिए ।
एक रात अनुले सोधी,
‘तिमीले मलाई कहिल्यै छोड्दैनौ नि ?’
आरवले कुनै सोचविचार नगरी लेख्यो,
‘कहिल्यै छोड्दिनँ ।’
तर त्यही वाक्य लेख्दा आरवले एउटा सत्य लुकायो ।
ऊ सम्बन्धविच्छेद भइसकेको पुरुष थियो । उसका छोराछोरी थिए । एउटा परिवार थियो, एउटा विगत थियो र त्यसभित्र थुप्रै यस्ता सत्यहरू थिए, जसलाई उसले अनुका आँखाबाट टाढा राखेको थियो ।
उसले आफ्नो जीवनको एउटा भाग काटेर अनुका लागि अर्को आरव बनाएको थियो ।
अनुले पनि आफ्ना सबै सत्य खोलेकी थिइन ।
त्यसैले उनीहरूबिच प्रेम आउनुअगि नै एउटा अदृश्य भ्रम जन्मिसकेको थियो ।
***
आरव अनुका भिडियोहरू बारम्बार हेर्थ्यो ।
नयाँ भिडियो पोस्ट हुनेबित्तिकै उसको मोबाइलमा नोटिफिकेसन आउँथ्यो । ऊ पुराना भिडियो खोज्थ्यो । पुराना तस्बिर हेर्थ्यो । पुराना कमेन्ट पढ्थ्यो ।
उसलाई लाग्थ्यो, अनु असाध्यै सुन्दर छे ।
तर उसले कहिल्यै सोचेको थिएन,
क्यामेराले मानिसलाई कति बदल्न सक्छ ?
प्रकाशले अनुहारको थकान लुकाउन सक्छ ।
फिल्टरले छालाका दाग मेटाउन सक्छ ।
एङ्गलले आकृति बदल्न सक्छ ।
मुस्कानले मनको पीडा छोप्न सक्छ ।
र सम्पादनले त एउटा साधारण क्षणलाई पनि असाधारण बनाइदिन सक्छ ।
टिकटकमा अनुका हजारौँ नजर थिए ।
तर ती नजरमध्ये कति जनाले उसको मन देखेका थिए ?
यता अनु पनि आरवका तस्बिर र भिडियो हेर्दै उसलाई आफ्नै कल्पनाको पुरुष बनाउँदै थिई ।
फोटोमा राम्रो देखिने अनुहार ।
मिठा शब्द ।
सुमधुर गफ ।
र ती वाक्यहरू,
‘तिमी मेरो जीवनको सबैभन्दा सुन्दर अध्याय हौ ।’
‘तिमीबिना मेरो संसार अधुरो छ ।’
शब्दहरू पढ्दापढ्दै अनुले आफ्नो मनमा एउटा आरव निर्माण गरिसकेकी थिई ।
त्यो आरव वास्तविक आरव थिएन ।
त्यो उसको कल्पनाले बनाएको आरव थियो ।
***
प्रेम गहिरिँदै जाँदा शङ्का पनि गहिरिँदै गयो ।
‘तिमी अहिले कहाँ छौ ?’
‘कोसँग कुरा गर्दै छौ ?’
‘अनलाइन भएर पनि मलाई रिप्लाई किन गरेनौ ?’
‘यो केटीले तिम्रो पोस्टमा किन कमेन्ट गरेकी ?’
‘तिमीले उसको फोटो किन लाइक गर्यौ ?’
प्रेम बिस्तारै विश्वासबाट निगरानीतिर सर्दै गयो ।
‘कति बेर अनलाइन?’
‘कसलाई लाइक?’
‘कसलाई कमेन्ट?’
‘कसको स्टोरी हेर्यौ?’
‘कसले फलो गर्यो?’
उनीहरूको सम्बन्ध अब हृदयमा भन्दा बढी नोटिफिकेसनमा बस्न थालेको थियो ।
एक दिन अनायासै आरवको टिकटक स्टोरीमा एउटा बालकको भिडियो आयो ।
त्यो आरवको छोरा थियो ।
अनुको मनमा अचानक एउटा पुरानो शङ्काले टाउको उठायो ।
उसले आरवलाई सोधी ।
आरवले फेरि एउटा झुट बोल्यो ।
झुटले कहिलेकाहीँ सत्यलाई केही समय रोक्न सक्छ तर सत्यको पाइला रोक्न सक्दैन ।
***
एक दिन अनुले भनिन्,
‘भेटौँ न ।’
आरव मौन रह्यो ।
त्यो सानो प्रस्तावले उसको मनभित्र बर्सौँदेखि बन्द रहेको एउटा ढोका खोलिदियो ।
त्यो ढोकाभित्र विवाह थियो ।
परिवार थियो ।
छोराछोरी थिए ।
विगत थियो ।
र सबैभन्दा ठुलो कुरा उसको वास्तविक अनुहार थियो ।
तर अनुको जिद्दीका अगाडि ऊ धेरै दिन टिक्न सकेन ।
भेट्ने दिन तय भयो ।
निर्धारित दिन उनीहरू पहिलो पटक आमनेसामने भए ।
अनुले आरवलाई टाढैबाट देखी ।
ऊ फोटोमा देखेको आरवभन्दा फरक थियो ।
तस्बिरमा जस्तो आकर्षक थिएन ।
भिडियोमा जस्तो आत्मविश्वासी थिएन ।
उसको बोलीमा त्यो मिठास थिएन, जुन रातभर मेसेन्जरमा शब्द बनेर बग्थ्यो ।
अनु केही बेर चुप लागी ।
आरवले पनि टिकटकमा देखेको अनु खोज्यो ।
तर त्यहाँ क्यामेराको प्रकाश थिएन ।
फिल्टर थिएन ।
सजाइएको एङ्गल थिएन ।
मधुर मुस्कान थिएन ।
दुवैका आँखामा एउटा अपरिचित सत्य उभिएको थियो ।
आरवको मनमा प्रश्न उठ्यो,
‘मैले प्रेम गरेको अनु यही हो ?’
अनुको मनमा पनि उस्तै प्रश्न थियो,
‘मैले प्रेम गरेको आरव यही हो ?’
दुवै केही बेर मौन बसे ।
स्क्रिनमा उनीहरू एकअर्काका लागि सुन्दर थिए ।
यथार्थमा भने उनीहरू एकअर्काका लागि अपरिचित जस्तै थिए ।
टिकटकको प्रेम आमनेसामनेको मौनतासँग हारिसकेको थियो ।
उनीहरू बेखुसीमै छुट्टिए ।
***
केही दिनपछि अनुले आरवलाई फोन गरिन् ।
फोन आरवको छोराले उठायो ।
‘बाबा बजार गैल बा, पाछे फोन करबी ।’
त्यो बालस्वरले अनुको मनभित्र लुकेको शङ्कालाई आवाज दियो ।
केही बेरपछि उनले आरवलाई फोन गरिन् ।
‘तिमीले आफ्नो परिवारबारे किन कहिल्यै खुलेर भनेनौ ?’
आरव मौन रह्यो ।
‘तिमी विवाहित हौ ?’
यस पटक झुटसँग लुक्ने ठाउँ थिएन ।
आरव चुप रह्यो ।
अनुले फेरि सोधी,
‘तिमी मसँग किन झुट बोल्यौ?’
आरवले मोबाइलको स्क्रिनतिर हेर्यो ।
अनुले बिस्तारै भनी,
‘म तिमीलाई गुमाउन चाहन्नथेँ, तर… ।’
वाक्य पूरा भएन ।
अनुको सुँक्कसुँक्क सुनियो ।
त्यसपछि फोन काटियो ।
त्यो अधुरो वाक्य आरवको मनमा पूरा जीवन जस्तै लामो भएर बसिरह्यो ।
***
त्यसपछि दुवैका मन भारी भए ।
एक दिन उनीहरूले आफूलाई ऐनामा नियाले ।
टिकटकको स्क्रिनमा देखिने चम्किलो अनुहार र ऐनामा देखिएको आफ्नै अनुहारबिच उनीहरूले एउटा गहिरो दूरी पाए ।
स्क्रिनले उनीहरूलाई अरूको नजरमा सुन्दर बनाएको थियो ।
ऐनाले भने उनीहरूलाई आफ्नै सत्यको अगाडि उभ्याएको थियो ।
त्यही दिन उनीहरूले बुझे,
मानिस अरूलाई छल्नुअगि धेरै पटक आफैँलाई छल्दो रहेछ ।
फिल्टरले अनुहार बदल्न सक्छ तर चरित्र बदल्न सक्दैन ।
प्रकाशले दाग छोप्न सक्छ तर सत्य छोप्न सक्दैन ।
सम्पादनले दृश्य बदल्न सक्छ तर जीवनको वास्तविकता सम्पादन गर्न सक्दैन ।
अन्ततः उनीहरूले एकअर्कालाई ब्लक गरे ।
न कुनै बिदाइ ।
न अन्तिम भेट ।
न कुनै वाचा ।
न ‘फेरि भेटौँला ।’
केवल दुईओटा स्क्रिन ।
दुईओटा मौनता ।
र डिजिटल संसारका दुई कुनामा हराउँदै गएका दुई नाम ।
अनुले आरवसँग जोडिएका सबै सम्झनाहरू हटाइन् ।
आरवले पनि अनुका भिडियोहरू खोज्न छोड्यो ।
केही समयपछि उनीहरूको नाम एकअर्काको डिजिटल संसारबाट मेटियो ।
तर मनबाट?
त्यहाँ एउटा प्रश्न बाँकी रह्यो,
यदि टिकटकले उनीहरूलाई नजोडेको भए, के उनीहरू प्रेममा पर्थे ?
सायद पर्दैनथे ।
सायद उनीहरूले एकअर्कालाई भेट्ने नै थिएनन् ।
सायद त्यो प्रेम थिएन ।
प्रेम जस्तो देखिएको एउटा भ्रम थियो ।
टिकटकले नराम्रो मानिसलाई राम्रो देखाउन सक्छ ।
झुट बोल्ने मानिसलाई विश्वासिलो देखाउन सक्छ ।
विवाहित मानिसलाई अविवाहित देखाउन सक्छ ।
साधारण अनुहारलाई असाधारण बनाउन सक्छ ।
क्षणिक मुस्कानलाई स्थायी स्वभाव जस्तो देखाउन सक्छ ।
र जीवनको वास्तविकतालाई एउटा चम्किलो पर्दापछाडि लुकाउन सक्छ ।
सायद त्यसैले अनु र आरवको प्रेम पनि एउटा सुन्दर भिडियो थियो,
हेर्दा मनमोहक,
क्षणभर हृदय छुने तर भिडियो सकिएपछि
स्क्रिनमा बाँकी रहने केवल एउटा मौनता ।
***
समय बित्यो ।
आज पनि कहिलेकाहीँ अनु टिकटक खोल्छे ।
नयाँ अनुहारहरू आउँछन् ।
नयाँ मुस्कानहरू देखिन्छन् ।
नयाँ प्रेमका कमेन्टहरू आउँछन् ।
‘तपाईंको आँखामा प्रेम छ ।’
‘तपाईंलाई देखेर प्रेममा परेँ ।’
‘तपाईं नै मेरो सपना ।’
अनु ती शब्दहरू पढ्छे ।
केही बेर चुप लाग्छे ।
उसलाई आफ्नो विगत सम्झना आउँछ ।
उता आरव पनि कहिलेकाहीँ पुराना गल्ती सम्झेर पश्चात्ताप गर्छ ।
दुवैलाई लाग्छ,
त्यति बेला स्क्रिनको आकर्षणभन्दा यथार्थलाई महत्त्व दिएको भए सायद उनीहरूको कथा अर्कै हुन्थ्यो ।
एक दिन अनुले कुनै फिल्टर नलगाई आफ्नो वास्तविक अनुहारसहित एउटा भिडियो बनाइन् ।
क्यामेराको अगाडि केही क्षण चुप लागिन् ।
त्यसपछि भनिन्,
‘स्क्रिनमा देखिने मुस्कान सधैँ खुसीको प्रतीक हुँदैन । मिठा शब्दहरू सधैँ साँचो प्रेमका प्रमाण पनि हुँदैनन् ।’
उता आरवले पनि आफ्नो वास्तविक अनुहारसहित एउटा भिडियो बनायो ।
उसले क्यामेराबाट आँखा नहटाई भन्यो,
‘अरूको नजरमा राम्रो देखिन खोज्दा मैले आफ्नै सत्य लुकाएँ । सत्य लुकाउँदा विश्वास गुमाएँ ।’
दुवैले ती भिडियो टिकटकमा पोस्ट गरे ।
सायद पहिलो पटक उनीहरूले संसारलाई आफ्नो वास्तविक अनुहार देखाएका थिए ।
अब उनीहरूले बुझिसकेका थिए,
फिल्टरले अनुहार सजाउन सक्छ, वास्तविकता बदल्न सक्दैन ।
hark.bohara.rose@gmail.com
प्रकाशित मिति २०८३ असोज २० गते मङ्गलबार १०:५८





