धार्मिक आस्था, प्राकृतिक सम्पदा र दिगो पर्यटनको अनुपम गन्तव्य : बडीकेदार
– हर्क बोहरा
नेपाल प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न राष्ट्र हो । हिमाल, पहाड र तराईका विविध भू–भागमा रहेका मठमन्दिर, शक्तिपीठ, तीर्थस्थल, गुफा, ताल तथा प्राकृतिक सम्पदाहरूले नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएका छन् । यिनै सम्पदामध्ये केहीले विश्वव्यापी प्रसिद्धि कमाइसकेका छन् भने कतिपय अझै पनि प्रचार–प्रसारको अभाव, अपर्याप्त पूर्वाधार र योजनाबद्ध विकास नहुँदा ओझेलमा परिरहेका छन् । यस्ता ओझेलमा परेका तर अपार सम्भावना बोकेका धार्मिक तथा प्राकृतिक सम्पदामध्ये सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा अवस्थित बडीकेदार एक विशिष्ट धरोहर हो ।
बडीकेदार एउटा धार्मिक तीर्थस्थल, पुरातात्त्विक किंवदन्ती, जैविक विविधता, लोकसंस्कृति, प्राकृतिक सौन्दर्य र सुदूरपश्चिमको सभ्यताको प्रतिनिधि स्थल हो । यहाँ पुग्ने भाग्यमानी यात्रुले देवदर्शन, प्रकृतिको अनुपम सौन्दर्य, स्थानीय संस्कृति, लोकविश्वास र अध्यात्मको अद्भुत समन्वयलाई पनि आत्मसात् गर्ने अवसर प्राप्त गर्छन् यद्यपि यति ठुलो सम्भावना हुँदाहुँदै पनि बडीकेदारले अझै राष्ट्रिय पर्यटन नक्सामा आफूअनुकूल स्थान बनाउन सकेको छैन । त्यसैले यसको वर्तमान अवस्था, चुनौती र सम्भावनाको गम्भीर समीक्षा गर्नु आवश्यक देखिन्छ ।
आस्थाको केन्द्रका रूपमा बडीकेदार :
समुद्री सतहबाट करिब २,८१० मिटरको उचाइमा रहेको बडीकेदार शक्तिपीठ डोटी जिल्लाको बडीकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाको सीमाक्षेत्रमा अवस्थित छ । स्थानीय रूपमा यसलाई ठुलाकेदार, बड्डाकेदार वा केदार नामले पनि चिनिन्छ । दुई विशाल प्राकृतिक शिलाको दोसाँधमा रहेको शिवशिलालाई भगवान शिवको दिव्य स्वरूपका रूपमा पूजा गरिन्छ । श्रद्धा र पवित्र मनले दर्शन गर्दा मनोकामना पूरा हुने विश्वासले यो स्थान शताब्दीयौँदेखि हजारौँ भक्तजनको आस्थाको केन्द्र बनेको छ ।
बडीकेदारसँग जोडिएका धार्मिक किंवदन्तीहरूले यसको महत्त्वलाई अझ गहिरो बनाएका छन् । गोठालाको गाईले शिलामाथि दूध चढाएको प्रसङ्ग, केदार र खापरेबिच भएको युद्ध, राजा दिलीपको आगमन, भगवान रामचन्द्रको दर्शन तथा कुन्ती महारानीसँग सम्बन्धित कथाहरू आज पनि स्थानीय समाजमा जीवित छन् । स्थानीय जनविश्वासअनुसार बडीकेदार भगवान शिवको पाउ (खुट्टा), काठमाडौँको पशुपतिनाथ शिवको शिर र भारतको केदारनाथ शिवको ढाडको प्रतीक हो । यस्ता धार्मिक आख्यानहरूले बडीकेदारलाई नेपाल र भारतका शिवभक्तहरूको साझा आस्थाको केन्द्रका रूपमा स्थापित गर्ने सम्भावना देखाउँछन् ।
यति धेरै सम्भावना बोकेको बडीकेदारको संरक्षण, संवर्द्धन र दिगो पर्यटन विकासको नमुना गन्तव्यका रूपमा अघि बढाउनु आवश्यक छ । आवश्यक पूर्वाधारको विकास, प्रभावकारी प्रचार–प्रसार, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र स्थानीय समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्दछ ।बडीकेदारले धार्मिक पर्यटनसँगै स्थानीय रोजगारी, उद्यम र अर्थतन्त्रमा समेत नयाँ ऊर्जा थप्न सक्छ ।
धार्मिक दृष्टिले बडीकेदार पूजा आराधनाको स्थल हुनुको साथै विश्वास, संयम, तपस्या र आध्यात्मिक शान्तिको प्रतीक हो । कठिन पदयात्रा पार गरेर भारत र नेपालका विभिन्न क्षेत्रबाट भक्तजन यहाँ पुग्नु स्वयंमा एउटा धार्मिक साधनाको अनुभूति मानिन्छ । यही कारण बडीकेदारको यात्रा आत्मिक अनुभूतिको यात्रा पनि हो ।
प्राकृतिक सौन्दर्यको अनुपम उपहार :
धार्मिक महत्त्वसँगै बडीकेदार प्राकृतिक सौन्दर्यको दृष्टिले पनि अद्वितीय छ । गुराँस, खर्सु, धुपी, काफल, ओखर, निगालो, मालिङ्गा तथा अन्य वनस्पतिले ढाकिएका हरिया पहाडहरूले यस क्षेत्रलाई मनमोहक बनाएका छन् । वसन्त ऋतुमा
गुराँसले राताम्य बनेका डाँडाहरू, लहरै बुटाहरूमा पाकेका काफलहरू, वर्षायाममा रङ्गीबिरङ्गी जङ्गली फूलहरूले ढाकिएका पाखाहरू तथा हिउँदमा हिमपातले सेताम्य बनेका पहाडहरूले बडीकेदारलाई चारै ऋतुमा फरक–फरक सौन्दर्य प्रदान गर्छन् ।
केदार गाथबाट देखिने कर्णाली क्षेत्रको विहङ्गम दृश्य, सूर्योदयको सुनौलो आभा, साँझपख तराईका झिलिमिली बत्ती तथा शान्त प्राकृतिक वातावरणले यहाँ पुग्ने प्रत्येक पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ । यो रोमाञ्चक परिवेशले बडीकेदारलाई धार्मिक पर्यटनसँगै प्रकृति पर्यटन, पदयात्रा (ट्रेकिङ), फोटोग्राफी तथा मानसिक शान्ति खोज्ने पर्यटकका लागि पनि उपयुक्त गन्तव्य हाे ।
जैविक विविधताको धनी क्षेत्र :
बडीकेदार जैविक विविधताको दृष्टिले अत्यन्त समृद्ध क्षेत्र हो । यहाँ पाइने सतुवा, पाँचऔँले, चिराइतो, गुछीच्याउ, हतजडो, तिते, कुरिलो, सुनगाभा, तेजपात, पखानबेदलगायतका बहुमूल्य जडीबुटी औषधीय दृष्टिले महत्वपूर्ण मानिन्छन् । यदि वैज्ञानिक संरक्षण र व्यवस्थित उपयोग गर्न सकियो भने यी जडीबुटी स्थानीय आर्थिक विकासका महत्वपूर्ण आधार बन्न सक्छन् ।
वन्यजन्तुतर्फ चितुवा, भालु, घोरल, थार, जरायो, बँदेल, ब्वाँसो, वन बिरालो, खरायो तथा अन्य थुप्रै प्रजातिहरू पाइन्छन् । कालिज, तित्रा, च्याखुरा, न्याउली, कोइली, मलेवा लगायतका चराचुरुङ्गीले यस क्षेत्रको वातावरणलाई जीवन्त बनाएका छन् । यस कारण बडीकेदार धार्मिक पर्यटनसँगै जैविक अध्ययन, प्रकृति अनुसन्धान तथा इको–टुरिजमका लागि पनि उपयुक्त क्षेत्र हो ।
धार्मिक मेलाले जोगाएको मौलिक संस्कृति :
समृद्ध धार्मिक तथा सांस्कृतिक परम्परा बडीकेदारको मौलिक विशेषता हो । परापूर्वकालदेखि नै यो क्षेत्र आस्थाको केन्द्रका रूपमा परिचित रहँदै आएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वादशीदेखि वैकुण्ठ चतुर्दशीसम्म लाग्ने ऐतिहासिक मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतका सीमावर्ती क्षेत्रबाट समेत हजारौँ श्रद्धालु, भक्तजन तथा पर्यटक सहभागी हुन्छन् । रातभरि गुञ्जिने डेउडा गीत, धामी–झाँक्रीहरूको नृत्य, धार्मिक अनुष्ठान, देवलीला, हवन–पूजन, पञ्चेबाजा तथा स्थानीय सांस्कृतिक प्रस्तुतिहरूले यस मेलालाई अन्य धार्मिक मेलाभन्दा विशिष्ट र आकर्षक बनाएका छन् । विशेषगरी केदार र खापरेसँग सम्बन्धित लोकविश्वास, धार्मिक परम्परा तथा देवसंस्कृतिले सुदूरपश्चिमको मौलिक पहिचानलाई पुस्तौँदेखि संरक्षण गर्दै आएको छ ।
पहिले वैशाक शुक्ल चतुर्दशीमा बडीकेदारमा मुख्यतः विशेष पूजाआजा र धार्मिक अनुष्ठान मात्र सञ्चालन हुने परम्परा थियो । तर पछिल्ला केही वर्षयता स्थानीय समुदाय, सरोकारवाला निकाय तथा भक्तजनहरूको सक्रियतासँगै यस अवसरमा व्यवस्थित रूपमा धार्मिक मेला पनि आयोजना हुन थालेको छ । यसले धार्मिक गतिविधिसँगै स्थानीय संस्कृति, परम्परा, कला, व्यापार तथा पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान पुर्याएको छ ।
त्यसैगरी महाशिवरात्रिका अवसरमा लाग्ने मेलाले पनि बडीकेदारको धार्मिक गरिमालाई थप उचाइ प्रदान गरेको छ । हाल बडीकेदार धार्मिक मेला र पूजाआजाको समयमा मात्र सीमित छैन; वर्षभरि नै देश–विदेशबाट आउने भक्तजन, तीर्थयात्री, अनुसन्धानकर्ता तथा प्राकृतिक सौन्दर्य अवलोकन गर्न चाहने पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ । धार्मिक आस्था, प्राकृतिक शान्ति, आध्यात्मिक वातावरण र मौलिक संस्कृतिको अद्वितीय संगम भएकाले बडीकेदारले वर्षैभरि आगन्तुकलाई स्वागत गरिरहेको छ । त्यसैले यहाँका धार्मिक परम्परा, लोकविश्वास, देवसंस्कृति र सांस्कृतिक सम्पदालाई नेपालको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्नु आजको मुख्य आवश्यकता हो ।
स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा :
बडीकेदार तीर्थस्थल स्थानीय जीवनस्तर उकास्ने र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने महत्त्वपूर्ण आधार हो । बडीकेदारमा व्यवस्थित पर्यटनको विकास हुन सके स्थानीय उत्पादन, जैविक कृषि, जडीबुटी, हस्तकला, स्थानीय परिकार, होमस्टे तथा सांस्कृतिक कार्यक्रममार्फत स्थानीय बासिन्दाको आम्दानी बढाउन सकिन्छ । विशेषगरी बडीकेदारमा विभिन्न अवसरमा लाग्ने धार्मिक मेलामा नेपालका विभिन्न स्थान तथा भारतका सीमावर्ती क्षेत्रबाट ठुलो सङ्ख्यामा धर्मावलम्बी, तीर्थयात्री तथा पर्यटक आउने भएकाले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने गरेको छ ।
मेलामा आउने श्रद्धालुहरूले पूजाआजा तथा दर्शनसँगै स्थानीय रूपमा उत्पादित मौलिक वस्तुहरू खरिद गरेर लैजाने गर्छन् । टिमुर, भटमास, पैँयुको लठ्ठी, अदुवा, हल्दी, गँड्याल, निगालाको झाडु, डोको, डालो, सतुवा आदि तथा गाउँमा उत्पादित विभिन्न किसिमका तरकारी र फलफूलजस्ता स्थानीय उत्पादनले बजार पाउने भएकाले कृषक तथा उत्पादकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुन्छन् । यसका साथै स्थानीय व्यापारीहरूको किनबेच बढ्ने, होटल तथा पसलहरूको कारोबार विस्तार हुने र यातायात, होमस्टे तथा अन्य सेवामूलक व्यवसायले पनि आम्दानी गर्ने अवसर प्राप्त गर्छन् । यसरी धार्मिक पर्यटनले बडीकेदारमा धार्मिक आस्था र पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधिलाई समेत गति प्रदान गर्न सक्छ ।
बडीकेदारमा पर्यटनको विस्तारसँगै स्थानीय युवाहरूका लागि आफ्नै गाउँमा रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न सकिन्छ । महिलाहरूले होमस्टे सञ्चालन, स्थानीय परिकार, हस्तकलाजन्य सामग्री तथा सांस्कृतिक कार्यक्रममार्फत आयआर्जन गर्न सक्छन् । स्थानीय कृषि, पशुपालन, जडीबुटी उत्पादन तथा हस्तकलालाई पर्यटनसँग जोड्न सके गाउँमा उत्पादन हुने वस्तुको बजार सुनिश्चित हुनुका साथै स्थानीय अर्थतन्त्र अझ बलियो बन्न सक्छ । यसले युवाको वैदेशिक तथा सहरी पलायन घटाउन, महिलाको आर्थिक सशक्तीकरण बढाउन र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि विस्तार गर्नसमेत महत्त्वपूर्ण योगदान पुर्याउने छ ।
पर्यटनका बहुआयामिक आकर्षण :
बडीकेदार क्षेत्र धार्मिक दर्शनमा मात्र सीमित छैन; यो प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको अनुपम संगमस्थल हो । यहाँ रहेका केदार गाथ, गाईबाच्छे ढुङ्गा, मगरउ, खापरे, शिवशिला, विशाल शिवमूर्ति, १०८ शिवलिङ्ग, सिद्धगुफा, धाजा लगाउने स्थान तथा केदार्नी माता मन्दिर जस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरूले पर्यटकलाई विविध अनुभव प्रदान गर्छन् । यी प्रत्येक स्थलसँग जोडिएका किंवदन्ती, धार्मिक विश्वास, लोककथा र प्राकृतिक विशेषताले बडीकेदारलाई बहुआयामिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेका छन् । धार्मिक आस्थासँगै यहाँको सांस्कृतिक जीवनशैली, स्थानीय परम्परा र लोकविश्वासको अध्ययन गर्न चाहने अनुसन्धानकर्ता तथा संस्कृतिप्रेमीका लागि पनि यो क्षेत्र उत्तिकै महत्त्वपूर्ण छ ।
प्राकृतिक दृष्टिले पनि बडीकेदार अत्यन्त मनोरम र आकर्षक छ । हरियाली वन, शान्त वातावरण, खुला हिमाली दृश्य, मनोरम डाँडाकाँडा, स्वच्छ हावा तथा प्राकृतिक भू–दृश्यले यहाँ आउने प्रत्येक आगन्तुकलाई लोभ्याउँछ । सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य, वनस्पति तथा प्राकृतिक सौन्दर्यका कारण बडीकेदार फोटोग्राफी, भिडियो निर्माण, प्रकृति अवलोकन तथा दृश्यावलोकन (Sightseeing) का लागि उत्कृष्ट गन्तव्य बन्ने सम्भावना छ । सामाजिक सञ्जालका लागि प्राकृतिक दृश्यहरू कैद गर्न चाहने युवापुस्तादेखि व्यावसायिक फोटोग्राफरसम्मका लागि यो क्षेत्र आकर्षणको केन्द्र बन्ने पर्याप्त सम्भावना छ ।
त्यसैगरी, बडीकेदारसम्म पुग्ने पदमार्ग र आसपासका प्राकृतिक बाटाहरू पदयात्रा (Trekking/Hiking) का दृष्टिले पनि निकै उपयुक्त छन् । जंगल, पहाडी भिरालो, खुला घाँसे मैदान र प्राकृतिक दृश्यहरूको आनन्द लिँदै यात्रा गर्ने अनुभवले पर्यटकलाई छुट्टै रोमाञ्च प्रदान गर्छ । उचित पूर्वाधार, सूचना प्रणाली र पदमार्गको व्यवस्थापन गर्न सकिएमा बडीकेदारलाई धार्मिक पर्यटनसँगै पदयात्रा र प्रकृतिमैत्री पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।
एकै यात्रामा धार्मिक दर्शन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक अध्ययन, लोकविश्वास, जैविक विविधताको अवलोकन तथा साहसिक पदयात्राको अनुभव प्राप्त हुने भएकाले बडीकेदारको पर्यटकीय आकर्षण दिनप्रतिदिन बढ्दै जाने स्पष्ट सम्भावना देखिन्छ । भविष्यमा सुदूरपश्चिमकै प्रमुख पर्यटन केन्द्रका रूपमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सक्ने प्रशस्त आधारहरू बोकेको छ ।
धार्मिक पर्यटनको अपार सम्भावना र चुनौती :
सुरुसुरुमा बडीकेदार मेलामा मेला व्यवस्थापन समिति गठन गर्ने प्रचलन थियो । हरेक वर्षको मेलामा फरकफरक समिति गठन हुन्थ्यो । त्यसपश्चात् केदार संरक्षण विकास समिति नामक संस्था जिल्ला प्रशासन कार्यालय, डोटीमा दर्ता गरी बडीकेदारको विकास कार्य गरिएको इतिहास छ । विक्रम सम्वत २०७७ मा बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन भएपछि यस क्षेत्रलाई व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयासले गति लिएको छ । पूर्वमन्त्री प्रेमबहादुर आले मगर लगायत थुप्रै राजनीतिक नेताहरूको पनि बडीकेदारको विकासमा महत्वपूर्ण योगदान छ । शिवमूर्ति निर्माण, १०८ शिवलिङ्ग स्थापना, पदमार्गको सुधार, केही संरचनाको निर्माण तथा धार्मिक क्षेत्रको संरक्षणजस्ता कार्यले सकारात्मक सन्देश दिएका छन् । स्थानीय सरकार, प्रदेश सरकार, पर्यटन विकास समिति तथा स्थानीय समुदायको सक्रिय सहभागिताले भविष्यप्रति आशा जगाएको छ ।
यद्यपि यी प्रयासहरू बडीकेदारको विशाल सम्भावनाको तुलनामा अझै प्रारम्भिक चरणमै छन् । यहाँ पुग्ने जो–कोहीले महसुस गर्ने पहिलो समस्या सहज पहुँचको अभाव हो । अन्तिम गन्तव्यसम्म पुग्न अझै लामो पदयात्रा गर्नुपर्ने अवस्था छ । बिजुली बत्तीको पहुँच छैन । वर्षायाममा बाटो हिलाम्मे हुने, पहिरोको जोखिम रहने तथा यात्रुका लागि आवश्यक आधारभूत सुविधाको अभावले धेरै सम्भावित पर्यटक फर्किने गरेका छन् ।
पर्यटन पूर्वाधारको सीमितता हो यहाँको अर्को चुनौती हाे । व्यवस्थित होटल, होमस्टे, धर्मशाला, सूचना केन्द्र, पार्किङ, स्वच्छ शौचालय, खानेपानी, स्वास्थ्य सहायता केन्द्र तथा आपत्कालीन उद्धार व्यवस्थाको अभाव अझै खड्किन्छ । धार्मिक यात्रामा ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको सहभागिता बढाउन यी पूर्वाधार अपरिहार्य छन् ।
यसैगरी बडीकेदारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार–प्रसार पनि अपेक्षित स्तरमा हुन सकेको छैन । नेपालका धेरै नागरिकले समेत बडीकेदारबारे पर्याप्त जानकारी पाएका छैनन् । पर्यटन नक्सा, प्रचार सामग्री, वृत्तचित्र, डिजिटल प्लेटफर्म तथा अनुसन्धानमूलक प्रकाशनको अभावले यसको वास्तविक पहिचान सीमित दायरामै रहेको छ ।
नेपाल धार्मिक पर्यटनका लागि विश्वमै महत्वपूर्ण गन्तव्य बन्न सक्ने क्षमता भएको देश हो । पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, लुम्बिनी, मनकामना, पाथीभरा लगायतका धार्मिक स्थलहरूले लाखौँ भक्तजनलाई आकर्षित गरिरहेका छन् । यही सन्दर्भमा बडीकेदारलाई पनि राष्ट्रिय धार्मिक पर्यटनको मूलधारमा ल्याउन सकिने आधारहरू बलिया छन् ।विशेषगरी पशुपतिनाथ–रामेश्वर–बडीकेदार–केदारनाथलाई जोड्ने धार्मिक पर्यटन सर्किट विकास गर्न सकिए सुदूरपश्चिम नेपालको धार्मिक पर्यटनमा नयाँ आयाम थपिने छ । यसले धार्मिक यात्रालाई मात्र होइन, सांस्कृतिक आदान–प्रदान र स्थानीय आर्थिक विकासलाई पनि टेवा पुर्याउने छ ।
प्राकृतिक तथा सांस्कृतिक पर्यटनको नयाँ गन्तव्य:
बडीकेदारको अर्को ठुलो सम्भावना यसको प्राकृतिक र सांस्कृतिक सम्पदामा निहित छ । यहाँ पाइने जैविक विविधता, दुर्लभ जडीबुटी, हिमाली वनस्पति, वन्यजन्तु, विशाल शिलाखण्ड, सिद्धगुफा तथा मनोरम दृश्यहरूले प्रकृतिप्रेमीहरूलाई आकर्षित गर्न सक्छन् ।
अर्कोतर्फ डेउडा संस्कृति, धामी परम्परा, देवलीला, लोककथा तथा धार्मिक मेलाहरू सुदूरपश्चिमको अमूर्त सांस्कृतिक सम्पदाका अनुपम उदाहरण हुन् । यिनको संरक्षण गर्दै पर्यटनसँग जोड्न सकियो भने बडीकेदार धार्मिक स्थल मात्र नभई सांस्कृतिक अध्ययनको केन्द्रका रूपमा पनि स्थापित हुन सक्छ ।
विद्यालय, कलेज तथा विश्वविद्यालयका विद्यार्थीका लागि शैक्षिक भ्रमण, अनुसन्धान तथा लोकसंस्कृति अध्ययनको उत्कृष्ट स्थल बन्ने क्षमता पनि यस क्षेत्रमा विद्यमान छ ।
बडीकेदारलाई राष्ट्रियस्तमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक नीतिगत पहलहरू :
बडीकेदारको विकासमा थुप्रै सकारात्मक भइरहेको भए तापनि यसको धार्मिक गरिमा, प्राकृतिक सम्पदा तथा सांस्कृतिक मौलिकतालाई संरक्षण गर्दै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न निम्न नीतिगत तथा व्यावहारिक पहलहरू आवश्यक देखिन्छन्:
१. बडीकेदार क्षेत्रलाई राष्ट्रिय प्राथमिकताप्राप्त धार्मिक तथा पर्यटकीय गन्तव्य घोषणा गरी दीर्घकालीन गुरुयोजना तयार गर्ने
२. अन्तिम गन्तव्यसम्म सुरक्षित, वातावरणमैत्री पार्किङ, खानेपानी, शौचालय, स्वास्थ्य सहायता तथा आपत्कालीन उद्धार सेवाको विस्तार गर्ने
४. कार्तिक मेला, चैत्र मेला र शिवरात्रि मेलालाई राष्ट्रिय धार्मिक तथा सांस्कृतिक महोत्सवका रूपमा व्यवस्थित गर्दै अन्तर्राष्ट्रिय प्रचार गर्ने
५. पशुपतिनाथ–रामेश्वर–बडीकेदार–केदारनाथ धार्मिक पर्यटन सर्किट निर्माण गरी नेपाल–भारत धार्मिक पर्यटनसँग जोड्ने
६. डेउडा संस्कृति, देवलीला, धामी परम्परा, लोककथा तथा मौखिक सांस्कृतिक सम्पदाको संरक्षण र अभिलेखीकरण गर्ने
७. दुर्लभ जडीबुटी, वन्यजन्तु तथा जैविक विविधताको वैज्ञानिक संरक्षण गर्दै इको–टुरिजमलाई प्राथमिकता दिने
८. विद्यालय, विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग सहकार्य गरी बडीकेदारलाई धार्मिक, सांस्कृतिक र जैविक अध्ययनको अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने
९. स्थानीय कृषि उत्पादन, जडीबुटी, हस्तकला, स्थानीय परिकार तथा होमस्टेलाई पर्यटनसँग आबद्ध गरी स्थानीय समुदायलाई प्रत्यक्ष आर्थिक लाभ हुने व्यवस्था गर्ने
१०. आधुनिक सूचना प्रविधिको प्रयोग गरी आधिकारिक वेबसाइट, डिजिटल अभिलेख, वृत्तचित्र, मोबाइल एप तथा सामाजिक सञ्जालमार्फत बडीकेदारको प्रभावकारी ब्रान्डिङ गर्ने
११. संघ, प्रदेश, स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र र स्थानीय समुदायबिच स्पष्ट समन्वय र साझेदारीको ढाँचा निर्माण गरी पर्याप्त लगानी सुनिश्चित गर्ने
१२. धार्मिक आस्था र प्राकृतिक सम्पदाबिच सन्तुलन कायम राख्दै दिगो पर्यटनको अवधारणालाई विकासको मूल आधार बनाउने
निष्कर्ष :
बडीकेदार धर्म, प्रकृति, संस्कृति, लोकविश्वास र पुस्तौँदेखिको आस्थालाई एउटै सूत्रमा बाँधेर राखेको जीवन्त सम्पदा हो । यहाँका पवित्र शिला र देवस्थलले धार्मिक विश्वास बोकेका छन्, हरियाली वन र मनोरम भू–दृश्यले प्रकृतिको अनुपम सौन्दर्य प्रस्तुत गरेका छन् भने मेला, जात्रा, देउडा र स्थानीय परम्पराले सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानलाई निरन्तरता दिएका छन् ।
यति धेरै सम्भावना बोकेको बडीकेदारको संरक्षण, संवर्द्धन र दिगो पर्यटन विकासको नमुना गन्तव्यका रूपमा अघि बढाउनु आवश्यक छ । आवश्यक पूर्वाधारको विकास, प्रभावकारी प्रचार–प्रसार, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र स्थानीय समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्दछ ।बडीकेदारले धार्मिक पर्यटनसँगै स्थानीय रोजगारी, उद्यम र अर्थतन्त्रमा समेत नयाँ ऊर्जा थप्न सक्छ ।
प्रकृतिले सजाएको, इतिहासले चिनाएको, संस्कृतिले जोगाएको र आस्थाले पवित्र बनाएको बडीकेदार अब सम्भावनाबाट समृद्धिको यात्रातर्फ अघि बढ्नुपर्छ । बडीकेदार अब राज्यको दूरदृष्टि र समाजको साझा प्रयासको प्रतीक्षामा छ । बडीकेदारको गौरव र गरिमा जोगाउँदै यसको अपार सम्भावनालाई समृद्धिको उज्यालो यात्रामा रूपान्तरण गर्नु आजको पुस्ताको ऐतिहासिक जिम्मेवारी र भावी पुस्ताका लागि हाम्रो अमूल्य विरासत हुने छ ।
बडीकेदार–५, लाना, बगरगडा, डोटी
हाल : धनगढी- ५, शिवनगर, कैलाली
प्रकाशित मिति कार्तिक २१, २०८३






