पोखरा, कार्तिक २१ गते । सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८३ प्रेन्सा रेग्मीलाई प्रदान गरिएको छ ।
सरुभक्त केन्द्रद्वारा शनिवार पोखरामा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कारका संस्थापक सरुभक्त, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठलगायतले रेग्मीलाई सम्मानपत्रसहित नगद ५० हजार रुपियाँ प्रदान गरे ।
केन्द्रका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक डा. ईश्वरमणि अधिकारीले सानै उमेरदेखि प्रेन्साले सामाजिक क्षेत्रमा देखाएको सक्रियता, मानवीय संवेदना तथा सामाजिक र आर्थिक रूपमा पछाडि परेका समुदायको हितमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै पुरस्कारका लागि छनोट गरिएको बताए ।
वि. सं. २०६९ साल फागुन ६ गते म्याग्दीको मङ्गला गाउँपालिका नम्बर ७ मा जन्मिएकी प्रेन्सा हाल पोखरा-११, फूलबारीमा बस्दै आएकी छन् । उनी पोखरास्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन् । सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय उनले समुदायका विभिन्न समस्या समाधानका लागि प्रयास गर्दै आएकी छन् । कोभिड-१९ महामारीका बेला मास्क तथा सेनिटाइजर वितरण, विपन्न परिवारका लागि खाद्यान्न व्यवस्थापन र कपडा उपलब्ध गराउनेलगायतका मानवीय कार्य उनले गरेकी थिइन् । लुगा बैङ्क स्थापना गरी विपन्न बालबालिकालाई सहयोग गर्ने, शैक्षिक सामग्री वितरण गर्ने र बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउने काममा पनि उनको सक्रियता छ ।
यसअगि सो पुरस्कार तेम्बाछिरी शेर्पा, ज्योति थापा, ऋतु लामा, शिखा कटुवाल, करुणा गुरुङ, सिपोरा गुरुङ, कुशल केसी, निमा छ्याङ्दी शेर्पा र सुप्रिम मल्ल ठकुरीले पाइसकेका छन् ।
कार्यक्रममा केन्द्रकी उपाध्यक्ष तथा पोखरा प्रज्ञा प्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षा, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने, गण्डकी बोर्डिङ स्कुलका प्राचार्य विश्वयुधीर पौडेललगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव उपेन्द्र पौडेलले गरेका थिए ।
प्रकाशित मिति कार्तिक २१, २०८३






