सार्दिखोला साहित्य मञ्चको तेस्रो शृङ्खलाको नियमित रचना वाचन कार्यक्रम सम्पन्न

सार्दिखोला साहित्य मञ्चको तेस्रो शृङ्खलाको नियमित रचना वाचन कार्यक्रम सम्पन्न

Education News

@edunewsnp

कार्तिक २७, २०८३

कास्की, कार्तिक २७ गते । सार्दिखोला साहित्य मञ्चको नियमित रचना वाचन कार्यक्रमको तेस्रो शृङ्खला विविध साहित्यिक तथा सिर्जनात्मक प्रस्तुतिसहित सम्पन्न भएको छ । मञ्चका अध्यक्ष छविलाल आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...

कास्की, कार्तिक २७ गते । सार्दिखोला साहित्य मञ्चको नियमित रचना वाचन कार्यक्रमको तेस्रो शृङ्खला विविध साहित्यिक तथा सिर्जनात्मक प्रस्तुतिसहित सम्पन्न भएको छ ।

मञ्चका अध्यक्ष छविलाल आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अवकाशप्राप्त पूर्वन्यायाधीश तथा उच्च अदालतका पूर्वन्यायाधीश विनोद मोहन आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन सन्तोषकुमार आत्रेयले गर्नुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा संस्थाका उपाध्यक्ष सन्तोष आचार्यले स्वागत मन्तव्य राख्दै मञ्चका आगामी योजना तथा उद्देश्यबारे प्रकाश पार्नुभयो। उहाँले आगामी वैशाख १ गते प्रकाशन गर्ने लक्ष्यसहित ‘शार्दिका सुसेली’ नामक साहित्यिक प्रकाशनका लागि सम्पादक मण्डल तथा व्यवस्थापन समिति गठन गरिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा लक्ष्मीप्रसाद आचार्यको जन्मदिनको अवसर पारेर अध्यक्ष छबिलाल आचार्यले महाकवि लक्ष्मीप्रसाद देवकोटाको सङ्घर्षपूर्ण जीवन र अद्भुत साहित्यिक प्रतिभाबारे चर्चा गर्दै कविता वाचन गर्नुभयो ।

प्रमुख अतिथि विनोद मोहन आचार्यले आफ्नो मन्तव्यमा सार्दिखोलाको नयाँ पुस्तालाई स्थानीय माटो, समाज र परिवेशसँग जोडिएका साहित्यिक सिर्जना गर्न प्रेरित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। विद्यार्थी जीवनदेखि नै पढ्ने, लेख्ने र साहित्य सुन्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै साहित्यिक गतिविधिमा सहभागी हुनु गर्वको विषय बन्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो। उहाँले आगामी दिनमा स्थानीय आमा समूह तथा देश–विदेशमा रहेका सार्दिखोलावासीलाई समेत साहित्यिक अभियानमा जोड्दै सहभागिता विस्तार गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले ‘जन्म दिने आमा’ शीर्षकको कविता वाचन गर्नाका साथै ‘मेरो त बैँस फुलेछ’ शीर्षकको मुक्तकसमेत प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा प्रतीक आचार्यले ‘The Diamond Necklace’ कथाको समीक्षा प्रस्तुत गर्नुभयो। उहाँको साहित्यप्रतिको रुचि र अध्ययनलाई प्रोत्साहन गर्दै अध्यक्षले उहाँलाई भगत सिंहद्वारा लिखित ‘म किन नास्तिक हुँ’ पुस्तक उपहार प्रदान गर्नुभयो ।

त्यसैगरी, आरती गुरुङले कोरियन नाटक ‘The Nemesis’ को समीक्षा प्रस्तुत गर्नुभयो। अतिथि मातृका ढुङ्गानाले शुभकामना मन्तव्य राख्नुका साथै ‘तरुण’ शीर्षकको गीत प्रस्तुत गर्नुभयो। स्वस्तिका आचार्यले ‘How Much Land Does a Man Need?’ कथाको समीक्षा गर्नुभयो भने शिरीष लम्सालले ‘पशुपति प्रसाद’ चलचित्रको समीक्षा प्रस्तुत गर्नुभयो ।

सन्तोष आचार्यले ‘भित्र उज्यालो, बाहिर अँध्यारो’ शीर्षकको रचना प्रस्तुत गर्नुभयो। कार्यक्रम सञ्चालक सन्तोषकुमार आत्रेयले ‘जालो’ शीर्षकको कविता तथा ‘उक्लनु प्रिया, उक्लनु’ शीर्षकको कविता वाचन गर्नुभयो ।

संस्थाका सल्लाहकार हर्कबहादुर घर्तीले नैतिक शिक्षा, संस्कार र व्यवहारसम्बन्धी प्रेरणादायी मन्तव्य राख्नुभयो। उहाँले अग्रजप्रतिको जिम्मेवारी, व्यवहारमा देखिने स्नेह, सद्भाव र आपसी सम्मानको महत्त्वमाथि प्रकाश पार्नुभयो ।

संस्थाकी कोषाध्यक्ष मीरा आचार्यले कथासम्बन्धी समीक्षा प्रस्तुत गर्नुका साथै हालसम्मका आजीवन सदस्यहरूको नामावली वाचन गर्नुभयो। हुकुमसिंह गुरुङले समग्र कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा सार्दिखोलाका सबै वर्ग र पुस्ताका व्यक्तिहरूलाई साहित्यिक गतिविधिमा सहभागी गराउने प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले प्राकृतिक स्रोत र सम्पदाको महत्त्व समेटिएको ‘ए सार्दिखोला, तिमी भाग्यमानी छौ’ शीर्षकको मुक्तकसमेत वाचन गर्नुभयो ।

कार्यक्रमले स्थानीय प्रतिभाको पहिचान, नयाँ पुस्तामा साहित्यप्रतिको रुचि अभिवृद्धि, पठन–लेखन संस्कृतिको विकास तथा स्थानीय साहित्यिक सिर्जनाको संरक्षण र प्रवर्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो। नियमित रूपमा आयोजना हुँदै आएको यस कार्यक्रमले सार्दिखोलाको साहित्यिक तथा सांस्कृतिक पहिचानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति कार्तिक २७, २०८३